बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत किमबोट गाउँ यतिबेला सुन्तलाको पहेँलो रौनकले सजिएको छ । कुनै समय कोदो र मकै मात्र फल्ने बारीहरू अहिले लटरम्म सुन्तलाले भरिएका छन् । गाउँका धेरै बासिन्दा रोजगारी, शिक्षा र स्वास्थ्य सुविधाको खोजीमा सहरतिर सरे पनि किमबोटका लोकनाथ कँडेलको मन भने अझै आफ्नै गाउँको माटो र सुन्तलाको बगानमै अडिएको छ ।
झण्डै १३ वर्षअघि बागलुङ बजार बसाइँ सरेका कँडेल हरेक हप्ता एकपटक अनिवार्य रूपमा किमबोट पुग्ने गर्छन् । उनको यो नियमित यात्राको मुख्य कारण नै ३५ वर्षदेखि निरन्तर पसिना बगाउँदै आएको सुन्तला खेती हो । सहरमा सुविधा भए पनि गाउँको बगानले दिएको आत्मसन्तुष्टि र आम्दानीले उनलाई गाउँसँगै बाँधेर राखेको छ ।
वि.सं. २०४७ सालतिर सामान्य लगानीबाट सुरु गरिएको सुन्तला खेती आज लोकनाथ कँडेलका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ । करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको उनको बगानमा हाल ३२० वटा सुन्तलाका बोट छन् । तीमध्ये करिब २५० बोटले राम्रोसँग फल दिइरहेका छन् । पहिले कोदो र मकै मात्र फल्ने जमिनमा अहिले सुन्तलाले राम्रो उत्पादन दिन थालेपछि बगान नै उनको पहिचान बनेको छ ।
सुन्तला खेतीबाट भएको आम्दानीले कँडेलले आफ्ना छोराछोरीलाई पढाइलेखाइ गराए । आज उनका छोराहरू जापान, अमेरिका र पोर्चुगलजस्ता देशमा रोजगारीका सिलसिलामा पुगेका छन् । गाउँमै बसेर गरेको मेहनतले परिवारको भविष्य सुरक्षित भएको उनी बताउँछन् ।
सुरुका दिनमा उत्पादन भएको सुन्तला डोकोमा बोकेर बागलुङ बजारसम्म लैजानुपर्ने बाध्यता थियो ।
बाटोघाटोको कठिनाइ र बजारको अभावले धेरै समस्या झेल्नुपरेको उनको अनुभव छ । तर पछिल्ला वर्षहरूमा अवस्था निकै बदलिएको छ । अहिले धादिङ, चितवनलगायत विभिन्न जिल्लाबाट व्यापारीहरू सिधै बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
गत वर्ष करिब १३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका कँडेलले यस वर्ष भने १५ लाख रुपैयाँभन्दा बढीको कारोबार गरिसकेका छन् । अझै करिब दुई लाख रुपैयाँ बराबरको सुन्तला परिवारको उपभोगका लागि छुट्याइएको उनले बताए । जिल्लामै सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसानको रूपमा परिचित कँडेलको बगान धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
गाउँमा बस्ती पातलिँदै गए पनि, सहरको सुविधा भन्दा गाउँको माटो र सुन्तलाको सुगन्ध नै उनलाई बढी प्रिय लाग्ने कँडेल बताउँछन् । बिरामी पर्दा उपचार सहज हुने सोचले बजारमा बसाइँ सरे पनि उनको मन भने सधैँ किमबोटकै सुन्तला बोटहरू वरिपरि घुमिरहेको हुन्छ ।
राज्यले किसानका उत्पादनलाई उचित मूल्य, बजारको सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउने हो भने सुन्तला खेतीबाट मात्र होइन, अन्य कृषि पेशाबाट पनि गाउँको आर्थिक र सामाजिक मुहार परिवर्तन गर्न सकिने कँडेलको विश्वास छ । स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न सके गाउँ पुनः जीवन्त बन्ने उनको भनाइ छ ।























