खोटाङ। राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको कार्य दिक्तेल बजारस्थित भानुचोकमा औपचारिक रूपमा सुरु गरिएको छ। लामो समयदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेको उक्त सालिकलाई संरक्षण तथा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।
कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्य अभिवृद्धिका लागि एक करोड रुपैयाँको बजेट विनियोजन गरेपछि ठेक्का प्रक्रियामार्फत भानुचोक क्षेत्रमा पूर्वाधार विकासका काम सुरु भएका छन्। भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार, भानुभक्त आचार्यको सालिक अत्यन्त जीर्ण अवस्थामा पुगेकाले यसको संरक्षण अपरिहार्य देखिएको थियो। त्यसैले हाल रहेको स्थानबाट केही पर सार्दै आधुनिक र दिगो ढङ्गले पुनर्निर्माणको काम थालिएको हो।
पुनर्निर्माण योजनाअन्तर्गत सालिक आसपासको क्षेत्रलाई आकर्षक बनाइनेछ। खाली स्थानमा टायल जडान, रंगरोगन, व्यवस्थित प्रकाश व्यवस्थापन, हरियाली प्रवर्द्धनका लागि बगैँचा निर्माण, चोक चिनाउने साङ्केतिक चिह्न स्थापना तथा आदिकवि भानुभक्तका चर्चित कविताका केही पंक्ति समावेश गरिने जनाइएको छ। यसले भानुचोकलाई सांस्कृतिक पहिचानसहितको सार्वजनिक स्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
यस कार्यलाई स्थानीय आवश्यकतासँग जोड्न टोल विकास संस्था, स्थानीयवासी तथा सरोकारवाला निकायसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा पुनर्निर्माण प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। स्थानीय सहभागिताले निर्माण कार्यप्रति अपनत्व बढाउने विश्वास लिइएको छ।
भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख दाहालका अनुसार पछिल्लो समय सङ्घीय अनुदान कटौती हुने सम्भावना रहेकाले समयमै बोलपत्र प्रक्रिया अघि नबढाइए बजेट फ्रिज हुने जोखिम थियो। यही कारण सबै सरोकारवाला निकायसँग विस्तृत समन्वय गर्न नसकिए पनि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य तत्काल सुरु गरिएको उनले स्पष्ट पारे।
भानुचोकमा सालिक पुनर्निर्माण तथा बजार सौन्दर्यकरणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो। एक करोड रुपैयाँ बराबरको लागत अनुमान गरिए पनि सुदेवी कन्स्ट्रक्सन प्रालि, हलेसीले ८१ लाख ९ हजार २२९ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरेको कार्यालयले जनाएको छ।
यसै योजनाअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्र पर्ने केही सडक निर्माण तथा सुधारका कामसमेत अघि बढाइने तयारी गरिएको छ। बजार सौन्दर्यकरण र पूर्वाधार विकासले दिक्तेलको शहरी स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ भने राष्ट्रिय विभूतिको सम्मानका रूपमा भानुभक्त आचार्यको सालिकले सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।























