इलाम – इलामस्थित आदर्श माध्यमिक विद्यालयमा गठन गरिएको जुनियर युवा रेडक्रस समितिको आयोजनामा आगलागी सुरक्षा सम्बन्धी सचेतना तथा व्यवहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल, श्रीअन्तु गुल्मसँगको समन्वयमा सञ्चालन गरिएको हो।
कार्यक्रममा घरायसी भान्छा तथा वन क्षेत्रहरूमा आकस्मिक रूपमा आगलागी हुँदा अपनाउनुपर्ने सुरक्षा उपायबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। आगो लाग्ने सम्भावित कारण, जोखिम न्यूनीकरणका उपाय, प्रारम्भिक सुरक्षात्मक तयारी तथा आपत्कालीन अवस्थामा सुरक्षित रहने व्यवहारिक विधिहरूबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।
सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले आगलागीको समयमा नआत्तिने तरिका, सुरक्षित दूरी कायम गर्ने उपाय, प्राथमिक उपकरण प्रयोग गर्ने विधि र आपत्कालीन सेवासँग समन्वय गर्ने प्रक्रियाबारे व्यवहारिक अभ्याससमेत गराएका थिए। यसले विद्यार्थीहरूमा जोखिमप्रति सचेतना बढाउनुका साथै आत्मरक्षा क्षमतामा पनि वृद्धि गरेको आयोजकको भनाइ छ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विपद् व्यवस्थापनप्रति सचेत बनाउँदै समुदायस्तरमा सुरक्षित व्यवहार प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि विपद्सम्बन्धी विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने योजना विद्यालयले बनाएको जनाएको छ।























