चुलाचुली इलाम – वडा बाल सञ्जाल, चुलाचुली गाउँपालिका वडा नम्बर ०३ को आयोजनामा २०८२ साल पुस १४ गते सम्पन्न अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री किराँतेश्वर माध्यमिक विद्यालय, चुलाचुली–०३ पेल्टिमारीका विद्यार्थीहरूले चौथो स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। बौद्धिक क्षमता, तर्कशक्ति तथा सामान्य ज्ञानको परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ कार्यक्रममा किराँतेश्वर माविका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै प्रशंसनीय प्रदर्शन गरेका थिए।
विद्यालय परिवारले प्रतियोगितामा सहभागी भई विद्यालयको गरिमा बढाउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गरेको छ। साथै आगामी दिनहरूमा यस्ता शैक्षिक तथा प्रतिस्पर्धात्मक गतिविधिमा अझ उत्कृष्ट सफलता हासिल गर्न सकून् भन्ने शुभकामना पनि व्यक्त गरिएको छ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै अध्ययनप्रति रुचि बढाउन र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आगामी दिनमा पनि विद्यार्थीहरूलाई यस्ता सिर्जनात्मक तथा ज्ञानवर्धक गतिविधिमा सहभागी गराउँदै लैजाने योजना विद्यालयले बनाएको जनाएको छ।























