काठमाडौँ । नेपालमा धेरै अभिभावकले साना बालबालिकालाई बिहान–बेलुकी चिया वा कफी चखाउने गरेको पाइन्छ। कतिपयले बालबालिकालाई बानी नबिग्रियोस् भन्ने सोचले थोरै मात्रामा दिनु हानिकारक हुँदैन भन्ने धारणा राखे पनि स्वास्थ्य विशेषज्ञहरू यसप्रति सचेत रहन आग्रह गर्छन्।
विशेषज्ञहरूका अनुसार चिया र कफीमा पाइने क्याफिन बालबालिकाको स्वास्थ्यका लागि उपयुक्त हुँदैन। क्याफिनले बालबालिकाको निद्राको गुणस्तर बिगार्ने, भोक कम गराउने र एकाग्रतामा असर पुर्याउने सम्भावना बढी हुन्छ। नियमित रूपमा क्याफिनयुक्त पदार्थ सेवन गराइएमा बालबालिका चञ्चल हुने, चिडचिडेपन बढ्ने तथा पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या देखिन सक्छ।
स्वास्थ्यकर्मीहरूको भनाइमा क्याफिनले शरीरमा क्याल्सियमको अवशोषणमा बाधा पुर्याउने भएकाले दीर्घकालमा हड्डी र दाँतको विकासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ। बाल्यकाल शारीरिक र मानसिक विकासको अत्यन्तै संवेदनशील अवस्था भएकाले यस समयमा क्याफिनयुक्त पदार्थबाट जति टाढा राख्न सकियो, त्यति नै राम्रो हुने उनीहरूको सुझाव छ।
पोषण विज्ञहरूका अनुसार १२ वर्षसम्मका बालबालिकालाई क्याफिनयुक्त पेय पदार्थ नदिनु नै उपयुक्त हुन्छ। यसको सट्टा दूध, मोही, दही, सादा पानी, ताजा फलफूलको जुस वा सुप जस्ता पोषिलो र प्राकृतिक पेय पदार्थ दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
विशेषज्ञहरूले अभिभावकलाई बालबालिकाको खानपानप्रति सचेत रहन, गलत बानी सानै उमेरदेखि नबसाल्न र स्वस्थ विकल्प रोज्न आग्रह गरेका छन्। बालबालिकाको सन्तुलित आहार र पर्याप्त निद्राले नै उनीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सकारात्मक भूमिका खेल्ने उनीहरूको निष्कर्ष छ।























