इलाम। प्रहरी सेवामा कडाइ र संवेदनशीलता दुवै सँगसँगै अघि बढ्न सक्छ भन्ने उदाहरण बनेका छन् इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक जीवन कुमार कार्की। इलामको सूर्योदय नगरपालिका–१३ मा एक्लै र असहाय अवस्थामा जीवन बिताइरहेकी ८२ वर्षीया वृद्धा महिलाको उद्धार गरी परिवारको जिम्मा लगाउने कार्यपछि उनी फेरि एकपटक चर्चामा आएका छन्।
स्थानीयबाट वृद्धा महिलाको अवस्थाबारे जानकारी पाएलगत्तै कार्कीको नेतृत्वमा प्रहरी टोली सक्रिय भएको थियो। आफ्नै घरमा बस्न नसक्ने, आधारभूत आवश्यकतासमेत पूरा गर्न असमर्थ अवस्थामा भेटिएकी ती वृद्धाको आवश्यक स्वास्थ्य, सुरक्षा र समन्वयको व्यवस्था गरी परिवारसँग सुरक्षित पुनर्मिलन गराइएको प्रहरीले जनाएको छ। यस मानवीय पहलको कदर गर्दै सूर्योदय नगरपालिकाले प्रहरी नायब निरीक्षक कार्कीलाई सम्मानसमेत गरेको छ।
स्थानीयवासीका अनुसार यस घटनाले प्रहरीप्रतिको भरोसा अझ गहिरो बनेको छ। “कानून कार्यान्वयन मात्र होइन, पीडामा साथ दिने प्रहरी चाहिन्छ भन्ने सन्देश यो घटनाले दिएको छ,” एक स्थानीयले बताए।
अपराध अनुसन्धानमा पनि उत्तिकै सशक्त
प्रहरी नायब निरीक्षक कार्की मानवीय कार्यका कारण मात्र होइन, लागूऔषध नियन्त्रणमा सफल अनुसन्धानकर्ताका रूपमा पनि चिनिन्छन्। यसअघि धनकुटाको भेडेटारमा कार्यरत रहँदा उनले तरकारी बोक्ने मिनीट्रकदेखि बिरामी बोकेको एम्बुलेन्स र तेल बोकेको ट्याङ्करसम्म प्रयोग गरी गरिने लागूऔषध तस्करीको पर्दाफास गरेका थिए।
उनको नेतृत्वमा गरिएको अनुसन्धानबाट ५ सय ४४ किलोग्राम गाँजा बरामद भएको घटनाले जिल्ला मात्र होइन, सम्पूर्ण कोशी प्रदेशमा उनको परिचय स्थापित गराएको थियो। यही कार्यसम्पादनका आधारमा २०८० साल माघ महिनामा उनी ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित भई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सम्मानित भएका थिए।
राष्ट्रियस्तरको सम्मान र प्रेरणादायी यात्रा
६९औँ प्रहरी दिवस २०८१ को अवसरमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै लागूऔषध अपराध नियन्त्रणतर्फ ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरी पुरस्कार प्राप्त गर्नु उनको सेवायात्राको अर्को महत्वपूर्ण उपलब्धि हो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मान ग्रहण गर्दा “सही नियत र इमानदारीले गरेको कामको मूल्याङ्कन अवश्य हुन्छ” भन्ने विश्वास अझ बलियो बनेको कार्की बताउँछन्।
समाजसँग जोडिएको प्रहरी
प्रहरी नायब निरीक्षक कार्कीको भूमिका अपराध नियन्त्रणमै सीमित छैन। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, विद्यालयस्तरमा विद्यार्थी र शिक्षक लक्षित सचेतना कार्यक्रम, साइबर अपराध तथा लागूऔषध दुव्र्यसनविरुद्धका अन्तरक्रिया, चालक तथा सह–चालकलाई सडक सुरक्षा तालिम, सीमा क्षेत्रमा नेपाल–भारत संयुक्त गस्ती तथा स्थानीयसँग प्रत्यक्ष संवादमा उनी सक्रिय देखिन्छन्।
प्राकृतिक विपत्ति, सडक अवरोध, लोकसेवा परीक्षार्थीलाई वैकल्पिक मार्गको जानकारी दिने जस्ता साना तर महत्वपूर्ण क्षणहरूमा पनि उनको उपस्थितिले प्रहरी र नागरिकबीचको दूरी घटाएको छ। मिलनसार व्यवहार, सहयोगी सोच र सकारात्मक दृष्टिकोणका कारण उनी जहाँ पुग्छन्, त्यहीँ विश्वासको वातावरण सिर्जना हुने गरेको सहकर्मीहरू बताउँछन्।
करुणा र कर्तव्यको सन्तुलित उदाहरण
प्रहरी नायब निरीक्षक जीवन कुमार कार्कीको कथा कुनै एक व्यक्तिको प्रशंसा मात्र होइन। यो कर्तव्यमा दृढ र मानवतामा संवेदनशील प्रहरी सेवा सम्भव छ भन्ने जीवित उदाहरण हो। अपराधविरुद्ध कठोर र पीडितप्रति करुणाशील बन्न सकिने सन्देश उनका कामले दिन्छन्।
उनको सेवायात्रा समाजका लागि प्रेरणा, प्रहरी संगठनका लागि गर्व र भावी पुस्ताका लागि एउटा स्पष्ट पाठ हो—इच्छाशक्ति, इमानदारी र संवेदनशीलता भयो भने सकारात्मक परिवर्तन अवश्य सम्भव छ।























