म्याग्दी । म्याग्दी जिल्लाको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ। सुन्तलाखेती हुने जमिनको क्षेत्रफल विस्तार भएको र बजार मूल्यमा वृद्धि भए पनि अपेक्षित मात्रामा उत्पादन नहुँदा उत्पादकत्वमा कमी आएको हो।
कृषि विकास कार्यालय म्याग्दीका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन करिब ५ दशमलव ५६ प्रतिशतले घटेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। कार्यालय प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष मौसम अनुकूल रहनुका साथै रोग र किराको खासै समस्या नदेखिए पनि बोटमा फलको दाना पातलो लागेकाले उत्पादन घटेको हो।
“यस वर्ष मौसमले साथ दिएको छ। रोगकिरा वा प्राकृतिक विपद्को असर पनि देखिएन, तर सुन्तलामा दाना कम लाग्यो,” प्रमुख बास्तोलाले भन्नुभयो, “सुन्तलाखेतीमा एक वर्ष धेरै फल लाग्ने र अर्को वर्ष कम लाग्ने प्राकृतिक चक्र हुने भएकाले त्यसको प्रभाव उत्पादनमा परेको हो।”
गत वर्ष जिल्लामा ४२५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो। प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले कुल ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष भने क्षेत्रफल बढेर ४३० हेक्टर पुगेको भए पनि प्रतिहेक्टर उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टनमा सीमित भएको छ। यसअनुसार यस वर्ष करिब ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ।
कृषि विकास कार्यालयले किसानका बगैँचामा गरिएको नमूना अध्ययनका आधारमा प्रारम्भिक तथ्याङ्क संकलन गरेको जनाएको छ। सबै बगैँचाको सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्याङ्क संकलन गरिने कार्यालयले जानकारी दिएको छ।
उत्पादन घटे पनि यस वर्ष सुन्तलाको बजार मूल्य भने बढेको छ। किसानका अनुसार यस वर्ष सुन्तला प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा बिक्री भइरहेको छ, जुन गत वर्षको तुलनामा प्रतिकिलो करिब ५ रुपैयाँले बढी हो। औसत बिक्री मूल्यका आधारमा म्याग्दीमा यस वर्ष उत्पादन हुने सुन्तलाबाट करिब ३१ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ।
कृषि विकास कार्यालयका तथ्याङ्कअनुसार जिल्लामा हाल करिब ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङलगायत क्षेत्रमा दुई सयभन्दा बढी व्यावसायिक सुन्तला बगैँचा सञ्चालनमा छन्।
यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीसँगै काठमाडौँ, पोखरा, मुग्लिनलगायत ठूला बजारमा बिक्री हुँदै आएको छ। यातायात सुविधा सहज भएकाले व्यापारीहरू सिधै गाडी लिएर किसानका बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहका कृषि शाखाहरूले सुन्तला खेती प्रवर्द्धनका लागि बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ आयोजना तथा बजारीकरणमा निरन्तर सहयोग गर्दै आएका छन्। यस्ता सहयोगका कारण क्षेत्रफल र बजार पहुँच विस्तार भए पनि उत्पादकत्व बढाउन थप प्राविधिक सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।























