इलाम । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका युवाहरूका लागि फुटबल केवल खेल मात्र होइन, एकता, संघर्ष र सपनाको प्रतीक बनेको छ । कहिले खेतका ठूला गह्रामा, कहिले बारी र चौरमा खेल्दै आएका यहाँका युवाहरूले आज आफ्नै खेलमैदान निर्माण गरेर टारी गोल्डकपलाई नयाँ उचाइमा पुर्याएका छन् ।
हिउँद लाग्नेबित्तिकै “यसपालि कहाँ खेल्ने ?” भन्ने प्रश्न सुलुबुङका युवाहरूका लागि नियमितजस्तै थियो । उपयुक्त मैदानको अभावमा जहाँ अलि फराकिलो र समथर भेटिन्थ्यो, त्यही नै उनीहरूको अस्थायी खेलमैदान बन्थ्यो । औपचारिक फुटबल क्लबसमेत गठन नभएको समयमा युवाहरूको आपसी एकता र सहकार्य नै उनीहरूका लागि क्लब बराबर थियो ।
स्थानीय युवासँगै छिमेकी गाउँ तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत खेलाडीहरू सहभागी हुने गर्थे । तर खेलप्रतिको उत्साह बढ्दै जाँदा उपलब्ध मैदान साँघुरो हुँदै गयो । यही कारण २०७८ सालदेखि स्थानीय ‘टारी’ (खेतको सबैभन्दा ठूलो गह्रा) मा निरन्तर टारी फुटबल प्रतियोगिता आयोजना हुन थाल्यो । समयसँगै प्रतियोगिताको लोकप्रियता बढ्दै गयो, दर्शक र खेलाडीको चाप बढ्यो र अन्ततः एउटै निष्कर्षमा सबै पुगे—अब आफ्नै मैदान आवश्यक छ ।
गत वर्षको टारी गोल्डकपसँगै टारी फुटबल क्लबले आफ्नै खेलमैदान बनाउने अभियान सुरु गर्यो । क्लब अध्यक्ष महेन्द्र साउदेन, सचिव रुपेनराज नेम्बाङलगायत सम्पूर्ण आयोजक र सुलुबुङबासीले “अब आफ्नै मैदान बनाउने” महत्त्वाकांक्षी सपना सार्वजनिक गरे । यो सपना केवल घोषणा मात्र बनेन, व्यवहारमै उतारियो ।
गाउँ, जिल्ला, देश तथा विदेशमा रहेका खेलप्रेमी र शुभेच्छुकको सहयोगमा करिब ४० लाख रुपैयाँ संकलन गरियो । उक्त रकमबाट ११ रोपनी ५ आना जमिन खरिद गरी सेभेन–साइजको फुटबल मैदान निर्माण गरिएको छ । “अब मैदान खोज्दै भौंतारिनु पर्दैन,” अध्यक्ष साउदेनले खुसी व्यक्त गर्दै भने, “यो वर्ष आफ्नै मैदानमा खेल आयोजना गर्न पाउँदा गर्व महसुस भइरहेको छ । भविष्यमा यसलाई अझ विस्तार गर्दै लैजाने योजना छ ।”
मैदान निर्माण सम्पन्न भए पनि अझै धेरै काम बाँकी रहेको क्लबले जनाएको छ । मैदानलाई थप फराकिलो बनाउने, प्यारापिट निर्माण गर्ने, शौचालय, पार्किङ तथा आवश्यक भवन संरचना तयार गर्ने योजना क्रमशः अघि बढाइनेछ । “निरन्तर प्रयासको परिणामस्वरूप आफ्नै ग्राउन्ड बनाउन सफल भएका छौं,” सचिव नेम्बाङ भन्छन्, “गाउँदेखि विदेशसम्म रहेका नेपालीको माया र सहयोगले हाम्रो सपना साकार हुँदै गएको छ ।”
टारी फुटबल प्रतियोगिता केवल खेलमा सीमित छैन । यो स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनको माध्यमसमेत बनेको छ । प्रतियोगिताका क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने खानाको प्रदर्शनी तथा स्थानीय उत्पादनको बजार प्रवर्द्धनलाई पनि प्राथमिकता दिइँदै आएको आयोजकले जनाएको छ ।
यस वर्ष क्लबको आफ्नै मैदानमा पहिलो पटक टारी गोल्डकप आयोजना हुन लागेको छ । प्रतियोगिता यही पुस २३ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ । माघे संक्रान्तिको अवसर पारेर हरेक वर्ष हुँदै आएको यो प्रतियोगिता यसपालि पनि निरन्तरता पाउन लागेको हो ।
यस पटक खुला पुरुष फुटबल, भेट्रान तथा नवयुवा (अन्डर–१४) समूहका प्रतियोगिता आयोजना गरिनेछ । खुला पुरुषतर्फ १६ टिम सहभागी हुनेछन्, जसमा विजेताले नगद ७० हजार र उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ ८ टिम सहभागी हुनेछन्, जहाँ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । नवयुवा समूहमा विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस वर्ष टिम दर्ता पूर्ण रूपमा निःशुल्क गरिएको सचिव नेम्बाङले जानकारी दिए ।
खेतका गह्राबाट सुरु भएको यो यात्राले आज आफ्नै मैदानको सपना पूरा गरेको छ । टारी गोल्डकप अब केवल प्रतियोगिता होइन, सुलुबुङका युवाहरूको सामूहिक संघर्ष, एकता र सम्भावनाको जीवित उदाहरण बनेको छ ।























