इलाम। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–३ टारीमा आयोजना हुने टारी गोल्डकप फुटबल प्रतियोगिताका खेलाडी तथा अम्पायरलाई दुर्घटना बिमाको व्यवस्था गरिएको छ। ग्रामीण क्षेत्रमा खेलकुद प्रतियोगिता आयोजना गर्दा आर्थिक चुनौती रहने अवस्थाबीच पनि टारी फुटबल क्लबले खेलाडीको सुरक्षा प्राथमिकतामा राख्दै यो कदम चालेको हो।
आयोजकका अनुसार प्रतियोगिताको अवधिमा कुनै अप्रिय दुर्घटना भएमा खेलाडी तथा अम्पायरले अधिकतम एक लाख रुपैयाँसम्मको बिमा सुविधा पाउने व्यवस्था गरिएको छ। यस अन्तर्गत ६२ जना पुरुष खेलाडी र ४ जना अम्पायरको दुर्घटना बिमा गरिएको टारी फुटबल क्लबका सचिव रुपेनराज नेम्बाङले जानकारी दिए।
सचिव नेम्बाङका अनुसार बिमा व्यवस्थाले खेलाडीको मनोबल बढाउनुका साथै प्रतियोगितालाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
दुर्घटनाको जोखिम न्यूनीकरण हुँदा खेलाडी मात्र होइन, आयोजक पक्ष पनि मानसिक रूपमा सुरक्षित हुने उनको भनाइ छ। यसले आयोजकप्रतिको भरोसा र विश्वासलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।
खेलाडी तथा अम्पायरको बिमा निको इन्स्योरेन्स कम्पनीमार्फत गरिएको हो। हाल बिमामा समावेश हुने खेलाडीको नाम सूची सार्वजनिक नगरिए पनि प्रतियोगिता सुरु हुनुअघि सबै खेलाडी र अम्पायरको विवरण अनिवार्य रूपमा बिमा कम्पनीमा पेश गर्नुपर्ने सर्त रहेको आयोजकले जनाएको छ।
टारी गोल्डकप तथा सांस्कृतिक महोत्सव यही पुस २३ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने छ। माघे संक्रान्तिको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि निरन्तरता दिइएको हो। प्रतियोगिताअन्तर्गत खुला पुरुष फुटबल, भेट्रान तथा नवयुवा (अन्डर–१४) समूहका खेलहरू समावेश गरिनेछन्।
खुला पुरुषतर्फ १६ टिमको सहभागिता रहने छ। यस समूहका विजेताले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछन्। भेट्रान समूहमा ८ टिम सहभागी हुनेछन्, जहाँ विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, नवयुवा समूहमा विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ। यसपटक सबै समूहका लागि टिम दर्ता निःशुल्क गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता केवल खेलकुदमा सीमित नरही स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनको माध्यमसमेत बन्ने आयोजकको लक्ष्य रहेको छ। आयोजक समितिका अध्यक्ष महेन्द्र साउदेनका अनुसार विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई समेत महोत्सवको मुख्य आकर्षण बनाइनेछ।
यस वर्ष टारी फुटबल क्लबले आफ्नै खेल मैदानमा पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो, जसले स्थानीय खेलकुद विकाससँगै समुदायको पहिचानलाई समेत थप सशक्त बनाउने विश्वास लिइएको छ।























