काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजधानी काठमाडौँमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित विशेष एकता परेड आयोजना हुने भएको छ। आयोजकका अनुसार पौष २७ गते बिहान ११ बजे भद्रकालीबाट सुरु भई सिंहदरबारसम्म परेड निकालिने कार्यक्रम तय गरिएको छ।
एकीकृत नेपालको भावनालाई उजागर गर्ने लक्ष्यका साथ आयोजना गरिन लागेको उक्त परेडमा हजारौँ नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक पक्षले नेपाली नागरिकहरूलाई कुनै औपचारिक दर्ता वा प्रक्रिया बिना नै स्वस्फूर्त रूपमा उपस्थित भई सहभागिता जनाउन आह्वान गरेको छ।
परेडमा सहभागी हुने व्यक्तिहरूलाई आ–आफ्नो जातीय भेषभूषा, भाषा, संस्कृति र पहिचान झल्किने पहिरन तथा प्रस्तुति सहित सहभागी हुन आग्रह गरिएको छ। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने यस परेडमार्फत नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँसँगै देशका विभिन्न भागहरूमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदैछन्। यस अवसरमा सांस्कृतिक प्रस्तुति, दिव्योपदेश वाचन, विचार गोष्ठी तथा अन्य सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहले अघि सारेको एकीकृत राष्ट्रको अवधारणा, राष्ट्रिय स्वाभिमान र त्यागको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना गरिएको आयोजकको भनाइ छ। यस किसिमका कार्यक्रमले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि, इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको भावना विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
एकता परेडको व्यवस्थापन र स्वयंसेवक परिचालनको जिम्मेवारी जेन्जी मुभमेन्ट नेपाल ले लिने भएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार पौष २७ गते नेपाली इतिहासको महत्वपूर्ण दिन हो। “हामी विचार, दल वा समुदायका आधारमा फरक देखिए पनि राष्ट्रका रूपमा सबै एक हौँ भन्ने सन्देश दिन यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्,” उनले भने।
आयोजकले पृथ्वी जयन्तीको अवसरमा हुने परेडलाई राजनीतिकभन्दा माथि उठेर राष्ट्रिय एकताको प्रतीकका रूपमा सफल बनाउन सबै नेपालीलाई सहभागी हुन आग्रह गरेको छ।























