झापा । नेपाल, भारत र भूटानको सहभागितामा चौथो संस्करणको अन्तरराष्ट्रिय तरुल उत्सव झापाको मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बुधबारदेखि सुरु भएको छ। स्थानीय उत्पादन, रैथाने खानाको प्रवर्द्धन र सीमावर्ती पर्यटन विकासलाई उद्देश्य बनाएर आयोजना गरिएको यो उत्सवले तीन देशका संस्कृति र परम्परालाई एउटै थलोमा जोडेको छ।
उत्सवको उद्घाटन कोशी प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री चिन्तन पाठकले तरुलबाट तयार गरिएको केक काटेर गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री पाठकले कृषि, पर्यटन र ऊर्जा क्षेत्र नै नेपालको दिगो समृद्धिको बलियो आधार भएको उल्लेख गर्नुभयो। उहाँले बाहुनडाँगीवासीले प्रत्येक वर्ष छिमेकी देशहरूको सहभागितामा तरुल उत्सव आयोजना गर्दै रैथाने खानेकुराको संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।
उत्सवमा नेपाल, भारत र भूटानबाट आएका दुई दर्जनभन्दा बढी स्टल राखिएका छन्। स्टलहरूमा विभिन्न किसिमका तरुलजन्य परिकार, स्थानीय खाद्य सामग्री, अग्र्यानिक उत्पादन र परम्परागत स्वाद प्रस्तुत गरिएको छ। सांस्कृतिक कार्यक्रमअन्तर्गत दार्जिलिङकी गायिका डेजी बराइलीसहित नेपाली गायक टिका भण्डारी र कमलिकान्त भेटुवालले विशेष साङ्गीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
आयोजक तरुल उत्सव समितिका संयोजक तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बाहुनडाँगीमा १९९० सालदेखि हाटबजार लाग्दै आएको इतिहास स्मरण गर्दै सीमावर्ती क्षेत्र भएकाले यहाँ जङ्गली हात्तीको त्राससँग पनि स्थानीयले संघर्ष गर्दै आएको बताउनुभयो। उहाँले रैथाने खानालाई बिर्सेर मिसावटयुक्त र अस्वस्थकर खाद्य पदार्थतर्फ आकर्षण बढ्दा मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको सन्दर्भमा तरुलजस्ता प्राकृतिक खानेकुराको महत्व झनै बढेको उल्लेख गर्नुभयो।
प्राध्यापक हेमराज कार्कीका अनुसार विश्वभर करिब ६ सय प्रजातिका तरुल पाइन्छन्। नेपालमा भने वन तरुल, सिमल तरुल, भ्याकुर, घर तरुल, सखरखण्ड (सुठुनी), इस्कुस तरुल, पताले तरुललगायत करिब १३ प्रजातिका तरुल खाने चलन रहेको छ। यस्ता रैथाने खाद्य सामग्री पोषणयुक्त र स्वास्थ्यका लागि लाभदायक मानिन्छन्।
भूटानबाट सहभागी एग्रिगेटर नेटवर्क अफ छुक्काका अध्यक्ष छिरिङ दोर्जीले उत्सवमा भूटानमा उत्पादित अग्र्यानिक थुक्पा, अचार, रातो चामललगायत सामग्री बिक्रीका लागि राखिएको जानकारी दिनुभयो। भारतका सिक्किम, दार्जिलिङ, सिलिगुरी र कोलकाताबाट पनि रैथाने खानाका विविध स्टलहरू उत्सवमा सहभागी छन्।
उत्सवको अर्को आकर्षणका रूपमा इलाम नगरपालिका–६ पिपलबोटेका अदीक्षित खत्रीले उत्पादन गरेको एक किलो ७०० ग्राम तौलको इस्कुस प्रदर्शनमा राखिएको छ, जसले दर्शकको ध्यान खिचेको छ।
कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, दार्जिलिङका पर्यटन अभियन्ता शिशिर प्रधान, कार्गिल युद्धका सहिद परिवारका सदस्य नेत्र थापालगायत वक्ताहरूले मन्तव्य राख्दै उत्सवले तीन देशबीचको पर्यटन र सांस्कृतिक सम्बन्धलाई जनस्तरमा मजबुत बनाएको बताए।
चार वर्षअघि ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको तरुल उत्सव यस वर्ष चौथो चरणमा प्रवेश गरेको छ। माघे सङ्क्रान्तिसम्म सञ्चालन हुने उत्सवमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक समितिको अपेक्षा रहेको छ।























