इलाम,, मिति: २०८२ माघ २२ गते.,,। पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगको निवारणका लागि सञ्चालन हुन लागेको एच.पि.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले पूर्व–अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खोप समन्वय समिति, विद्यालय प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएको हो।
आगामी मिति २०८२ साल १० महिनाको २५ गतेदेखि २९ गतेसम्म वडा नम्बर ७ भित्र रहेका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिने भएको छ। यस अभियानअन्तर्गत लक्षित विद्यालय तथा वडा–स्तरीय खोप केन्द्रमार्फत छात्रा तथा किशोरीहरूलाई निःशुल्क एच.पि.भी. खोप प्रदान गरिने जानकारी दिइएको छ।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये एक रहेको उल्लेख गर्दै, समयमै खोप लगाउन सके भविष्यमा यस रोगबाट बच्न सकिने विषयमा विस्तृत छलफल गरिएको थियो। खोप अभियानलाई सफल बनाउन विद्यालय, अभिभावक, स्वास्थ्यकर्मी तथा स्थानीय तहबीच समन्वय अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका छन्।
अभिमुखीकरण कार्यक्रममा खोप सञ्चालनको विधि, लक्षित समूह पहिचान, खोप केन्द्र व्यवस्थापन, अभिलेख राख्ने प्रक्रिया तथा सम्भावित चुनौतीहरूको समाधानका उपायबारे स्पष्ट मार्गदर्शन गरिएको थियो। लक्षित समूहका सबै छात्रा तथा किशोरीहरूको अनिवार्य सहभागिता सुनिश्चित गरी उनीहरूको स्वस्थ भविष्य निर्माणमा सहयोग पुर्याउन सबैमा आग्रह गरिएको छ।
सम्बन्धित निकायले यो अभियान सफल बनाउन सम्पूर्ण अभिभावक, विद्यालय प्रशासन तथा स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहेको जनाउँदै, निर्धारित मिति र केन्द्रमा उपस्थित भई खोप लगाउन अनुरोध गरेको छ।
विद्यालय/खोप केन्द्र र मिति तालिका यस प्रकार रहेको छ:
१) श्री आदर्श माध्यमिक विद्यालय – २०८२/१०/२५
२) समता शिक्षा निकेतन स्कुल – २०८२/१०/२५
३) ग्रिन भ्याली एकेडेमी स्कुल – २०८२/१०/२६
४) ज्योति सदन स्कुल – २०८२/१०/२७
५) जुविलेन्ट इलाइट – २०८२/१०/२८
६) मन्टेश्वरी सेकेन्डरी स्कुल – २०८२/१०/२९
७) मातृ–शिशु स्वास्थ्य क्लिनिक – २०८२/१०/२९
स्वस्थ किशोरी, सुरक्षित भविष्यको आधार भन्ने मूल सन्देशका साथ सञ्चालन हुन लागेको यस एच.पि.भी. खोप अभियानमा सबैको साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
फोटो , इलाम नगरपालिका वडा सातबाट























