काठमाडौँ, २०८२ माघ २७ गते (मंगलबार)
नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पन्न दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सोमबार सम्पन्न भएको छ। आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रहरी व्यवस्थापन, सुरक्षा रणनीति, अपराध नियन्त्रण, प्रविधिको प्रयोग र नागरिक–प्रहरी सम्बन्धका विषयमा विस्तृत छलफल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय प्रणाली, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सुरक्षा चुनौती, अपराधका पारम्परिक तथा नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन तथा प्रहरी र नागरिकबीचको विश्वास र सहकार्य अभिवृद्धि गर्ने उपायहरूमा गहन छलफल गरिएको थियो।
यसैगरी मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग, विपद् व्यवस्थापनमा प्रथम उद्धारकर्ताको रूपमा प्रहरीको भूमिका, सडक सुरक्षा प्रवर्द्धन लगायतका विषयमा सहभागी अधिकारी र विषयविज्ञबीच अन्तरक्रिया भएको थियो।
सम्मेलनको क्रममा नेपाल प्रहरीको कार्य समीक्षा गर्दै दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजना निर्माणका लागि सुझाव संकलन गरिएको छ। विद्यमान आन्तरिक तथा बाह्य चुनौतीहरूको समग्र मूल्यांकन गर्दै संगठन सुधार, कार्यकुशलता अभिवृद्धि र सेवाप्रवाह सुधारका उपाय पहिचान गरिएको जनाइएको छ।
सम्मेलनको समापनसत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनबाट प्राप्त ज्ञान, अनुभव र सुझावहरूले आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको बताए। उनले प्रविधिको विकाससँगै साइबर अपराध, डिजिटल ठगी र प्रविधिमार्फत हुने अपराध बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रणका लागि नागरिकको सहकार्य आवश्यक रहेको बताए।
प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा उठेका सुझावहरू नीति निर्माण, रणनीति तय गर्ने प्रक्रिया, क्षमता अभिवृद्धि, प्रशिक्षण तथा वृत्तिविकासका क्षेत्रमा मार्गदर्शक हुने बताए। सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
यसैबीच प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान र शान्तिसुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम लोकतन्त्रका मेरुदण्ड, सूचनाका संवाहक र राज्य तथा नागरिकबीचको सेतुका रूपमा स्थापित संस्था भएको उल्लेख गरे।
उनले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचना (मिसइन्फर्मेसन), जानाजानी फैलाइने झुटा सूचना (डिसइन्फर्मेसन), डिप फेक तथा कृत्रिम बुद्धिमत्ताको दुरूपयोगबाट समाजमा भ्रम फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरे। त्यसैले सञ्चारमाध्यमले सत्य, सन्तुलित र जिम्मेवार सूचनाको सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताए।
प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम र प्रहरीबीच आपसी सम्मान, व्यावसायिकता र आचारसंहिताको पालना अत्यावश्यक रहेको उल्लेख गर्दै सहकार्यले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।























