दार्चुला, फेब्रुअरी १४, २०२६ । दार्चुला जिल्लास्थित कारागारको सुरक्षाको जिम्मेवारी अब नेपाली सेनाले लिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कारागार सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको हो।
नेपाली सेनाका सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा सुरक्षाकर्मीको टोली दार्चुला कारागारमा खटिएको छ। सेनाको टोलीले कारागारको बाह्य तथा आन्तरिक सुरक्षामा निगरानी बढाउँदै जिम्मेवारी सम्हाल्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि कारागार सुरक्षाका लागि सेना परिचालन गरिएको हो। उनले कारागारको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न सेनालाई जिम्मेवारी दिइएको जानकारी दिए।
स्थानीय प्रशासनका अनुसार हालसम्म कारागारमा कुनै अप्रिय घटना नभए पनि सुरक्षा संवेदनशीलता बढेकाले उच्च सतर्कता अपनाइएको हो। सेनाको उपस्थितिले कारागारभित्रको सुरक्षा व्यवस्था थप कडा र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
सुरक्षा निकायहरूका अनुसार कारागारमा बन्दीहरूको सुरक्षा, व्यवस्थापन तथा अनुशासन कायम राख्न सेना, प्रहरी र प्रशासनबीच समन्वय गरी काम गर्ने योजना बनाइएको छ। साथै आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी पनि गरिएको बताइएको छ।























