विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसर पारेर नेपाल डेन्टल एसोसिएसन झापा शाखाको आयोजनामा झापाको भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री परमानन्द मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो भने भद्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री रामप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पवन भट्टराई, संस्थापक प्रतिनिधि श्री दुर्गा चौधरी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा अक्कल कुमार गुरुधामी ले स्वागत मन्तव्य व्यक्त गर्दै मुख स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। त्यसैगरी विद्यालयका शिक्षक श्री शम्भु सुनुवारले आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
शिविरमा आठ जना दन्तरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई लक्षित गर्दै मुख तथा दाँतसम्बन्धी परीक्षण, परामर्श र आवश्यक औषधि वितरण गरेको थियो। साथै दन्त स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू जस्तै टूथपेस्ट र ब्रस पनि निःशुल्क रूपमा वितरण गरिएको थियो।
उक्त शिविरबाट करिब १४० जना लाभान्वित भएको जानकारी दिइएको छ। कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. भरत खरेल तथा अन्य चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्री राजनकृष्ण गौतमले गर्नुभएको थियो। कार्यक्रमसम्बन्धी जानकारी विद्यालयका शिक्षक श्री बिपिन भारद्धाजले उपलब्ध गराउनुभएको हो।
मुख्य विशेषताहरू:
निःशुल्क दन्त परीक्षण तथा परामर्श सेवा
औषधि, टूथपेस्ट र ब्रस वितरण
करिब १४० जना लाभान्वित
विद्यार्थी, शिक्षक र अभिभावक सहभागी
विशेषज्ञहरूले नियमित दन्त परीक्षण, सही तरिकाले ब्रस गर्ने बानी र मुखको सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरेका छन्।























