ललितपुर — ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पसमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता विषयका स्नातक तहका विद्यार्थीहरूसँग प्रेस काउन्सिल नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ‘कलेजसँग काउन्सिल’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा पत्रकारिता आचारसंहिता, मिडिया अनुगमन र उजुरी व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यसहित काउन्सिलका विभिन्न पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। उनीहरूले डिजिटल पत्रकारितामा बढ्दो आचारसंहिता उल्लंघनका घटनाबारे जानकारी दिँदै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूलाई प्रेस काउन्सिलको कामकारबाही, अनुगमन प्रक्रिया, उजुरी दर्ता र समाधानका उपायहरूबारे जानकारी गराइएको थियो। साथै, नेपालको पत्रकारिताको वर्तमान अवस्था, देखिएका चुनौतीहरू र नियामक निकायको भूमिकाबारे पनि छलफल भएको थियो।
काउन्सिल अध्यक्ष डा. आचार्यले पत्रकारिता क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै संस्थागत संरचना र कार्यप्रणाली बुझाउन यस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको बताए। उनले पत्रकारितामा नैतिकता, सत्यता र जिम्मेवारीलाई सधैं प्राथमिकतामा राख्न आग्रह पनि गरे।
कार्यक्रममा क्याम्पसका शिक्षकहरू लक्ष्मण दुलाल र सुलोचना बुढाथोकीसहित करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा विद्यार्थीहरूले मिडिया अनुगमन, पत्रकारको पहिचान, पेशागत अवसर तथा चुनौतीका विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रमको सहजीकरण काउन्सिलकी शाखा अधिकृत गीता पराजुलीले गरेकी थिइन् भने सहभागीहरूको जिज्ञासामा अध्यक्ष डा. आचार्य, प्रशासन शाखा प्रमुख रहमतुल्ला मियाँ तथा अनुगमन अधिकृत महेन्द्रराज सिंहले उत्तर दिएका थिए।
यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीहरूलाई पत्रकारिताको व्यावहारिक पक्ष बुझ्न र पेशागत दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्बिर: सुजन महर्जन























