काठमाडौं — संघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु हुने भएको छ। अधिवेशनको मुख्य केन्द्रबिन्दु आगामी आर्थिक वर्षको बजेटसँगै हाल सरकारले ल्याएका आठ वटा अध्यादेश प्रतिस्थापन गर्ने प्रक्रिया रहनेछ।
संघीय संसद् सचिवालयका अनुसार आजै अधिवेशन प्रारम्भ हुने दिन विभिन्न अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयकहरू पेस गरिने कार्यतालिका तय गरिएको छ। सरकारले जारी गरेका महत्वपूर्ण अध्यादेशहरूलाई कानुनी रूपमा स्थायी रूप दिन विधेयकमार्फत प्रतिस्थापन प्रक्रिया अघि बढाइनेछ।
कार्यतालिका अनुसार प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूले विभिन्न विषयका अध्यादेश संसद्मा प्रस्तुत गर्नेछन्। सार्वजनिक खरिद, संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण, सहकारी व्यवस्थापन, स्वास्थ्य तथा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन लगायतका अध्यादेशहरू छलफलका लागि पेस गरिने छन्।
त्यसैगरी अर्थमन्त्रीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश, कानुनमन्त्रीले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, भूमि व्यवस्था मन्त्रीले सहकारीसम्बन्धी अध्यादेश, स्वास्थ्य मन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश र शिक्षा मन्त्रीले विश्वविद्यालयसम्बन्धी अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ।
आजको अधिवेशनमा दिउँसो २ बजे प्रारम्भिक बैठक बस्नेछ भने अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।
संसद् सचिवालयका अनुसार अन्य केही विधेयकहरू तयारी अवस्थामा भए पनि हालसम्म दर्ता प्रक्रिया पूरा नभइसकेको बताइएको छ। बर्खे अधिवेशनलाई सरकारका नीति, बजेट र कानुनी सुधारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।























