इलाम, सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङ स्थित श्री माईपोखरी संस्कृत माध्यमिक विद्यालयमा विद्युत् अभाव, जीर्ण टिनको छाना, घेराबारको कमी तथा शैक्षिक पूर्वाधारका विभिन्न समस्याले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पारिरहेको पाइएको छ।
मिति २०८३ साल जेठ २६ गते रबिबजार न्युजद्वारा आयोजित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” विषयक कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षसँग अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूको अनुशासन, सिकाइप्रतिको उत्साह र शिक्षकहरूको जिम्मेवार भूमिका सकारात्मक पक्षका रूपमा देखिएको भए पनि विद्यालयले भोगिरहेका भौतिक तथा प्राविधिक समस्याहरू गम्भीर रहेको सरोकारवालाले बताएका छन्।

खेलमैदान छ, व्यवस्थापन कमजोर

विद्यालयमा खेलमैदान भए पनि यसको उचित व्यवस्थापन हुन नसकेको गुनासो विद्यार्थी तथा शिक्षकहरूले गरेका छन्। खेलकुद सामग्रीतर्फ भलिबलको व्यवस्था भए पनि फुटबल लगायत अन्य आवश्यक सामग्रीको अभाव रहेको जनाइएको छ। विद्यार्थीहरूले लुडोजस्ता खेलमार्फत मनोरञ्जन गर्ने वातावरण भने रहेको बताइएको छ।
कम्प्युटर शिक्षा प्रभावित
विद्यालयमा जम्मा १२ वटा कम्प्युटर रहेकोमा ६ वटा मात्र नियमित रूपमा सञ्चालनमा छन्। बाँकी ६ वटा कम्प्युटरमा प्राविधिक समस्या रहेकाले सूचना तथा प्रविधि शिक्षामा विद्यार्थीहरूले कठिनाइ भोग्नुपरेको अवस्था रहेको शिक्षकहरूले जानकारी दिएका छन्।
पुस्तकालयको अबस्था
विद्यालयको पुस्तकालयमा विभिन्न पुस्तकहरू उपलब्ध छन्। विद्यार्थीहरूले स्वतन्त्र रूपमा पुस्तक लिएर अध्ययन गर्ने गरेका छन्। तर विज्ञान लगायत केही विषयका लागि शिक्षक तथा विद्यार्थीको आवश्यकताअनुसारका सन्दर्भ पुस्तक पर्याप्त भने छैन।
सौर्य ऊर्जामा निर्भर विद्यालय
विद्यालयमा विद्युत् आपूर्तिको मुख्य आधार सौर्य ऊर्जा रहेको छ। विद्यालयमा जडान गरिएका ८ वटा सोलार प्रणालीमध्ये गत वर्ष असोज १८ गते आएको हावाहुरीका कारण ६ वटा क्षतिग्रस्त भएका छन्। हाल २ वटा मात्र सञ्चालनमा रहेकाले विद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक गतिविधि प्रभावित भएको जनाइएको छ।
विद्यालय प्रशासनका अनुसार नियमित विद्युत् सेवाको अभाव विद्यालयको सबैभन्दा ठूलो समस्या मध्ये एक हो।
विज्ञान शिक्षामा साना सामग्रीको अभाव
विज्ञान प्रयोगशालामा केही उच्चस्तरीय उपकरणहरू भए पनि दैनिक प्रयोगका लागि आवश्यक साना सामग्रीहरूको कमी रहेको विज्ञान शिक्षकहरूले बताएका छन्। यसले प्रयोगात्मक शिक्षणलाई प्रभाव पारिरहेको उनीहरूको भनाइ छ।
खानेपानी र सरसफाइमा सुधारको आवश्यकता
विद्यालयमा खानेपानीको सुविधा भए पनि एउटा मात्र पानी फिल्टर भएकाले शिक्षक र विद्यार्थी दुवैलाई असहज भइरहेको बताइएको छ। थप एउटा फिल्टरको व्यवस्था भए स्वच्छ खानेपानीको पहुँच सहज हुने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा विद्यालयमा चार वटा शौचालय रहेको पाइयो। तीमध्ये एक वटा कर्मचारीका लागि, दुई वटा महिलाका लागि र एक वटा पुरुषका लागि प्रयोग हुँदै आएका छन्। महिला तथा कर्मचारी शौचालयको सरसफाइ सन्तोषजनक देखिए पनि पुरुष शौचालयमा थप सरसफाइ आवश्यक रहेको अवलोकनकर्ताहरूले बताएका छन्।
घेराबार नहुँदा विद्यालयको सुरक्षा चुनौती
विद्यालयमा घेराबार नहुँदा बिदाको समयमा बाहिरी व्यक्तिहरू विद्यालय परिसरमा प्रवेश गर्ने, शौचालय तथा अन्य संरचनाको दुरुपयोग गर्ने र विद्यालयको सम्पत्तिमा क्षति पुग्ने समस्या रहेको शिक्षकहरूले बताएका छन्। विद्यालयको सुरक्षा र संरक्षणका लागि तत्काल घेराबार निर्माण आवश्यक रहेको उनीहरूको माग छ।
टिनको छानाले कक्षाकोठामा वर्षा पस्ने समस्या
विद्यालयका अधिकांश भवन टिनको छानाले ढाकिएका छन्। वर्षायाममा छानाबाट पानी चुहिने हुँदा कक्षाकोठाभित्रै पानी पस्ने र विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न नसक्ने अवस्था रहेको शिक्षकहरूले बताएका छन्।
यस समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको भए पनि हालसम्म प्रभावकारी समाधान हुन नसकेको उनीहरूको भनाइ छ।
इन्टरनेट र अन्य पूर्वाधारको समस्या
विद्यालयमा इन्टरनेट सेवा प्रभावकारी नभएको, केही आवश्यक भौतिक संरचना निर्माण हुन नसकेको तथा विभिन्न शैक्षिक पूर्वाधारमा सुधार आवश्यक रहेको विद्यालयले जनाएको छ।
एसईई नतिजा र अभिभावकको सहभागिताप्रति चिन्ता
विद्यालयका अनुसार पछिल्लो एसईई परीक्षामा करिब १३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको शिक्षकहरूको धारणा छ।
“श्री माईपोखरी संस्कृत माध्यमिक विद्यालयका सबै शिक्षक तथा कर्मचारीहरू मिलेर पालैपालो आफैं नास्ता तयार गरी सामूहिक रूपमा सेवन गर्ने परम्परा रहेको पाइयो।”
शिक्षकहरूले भनेका छन्, “धेरैजसो अभिभावक वर्षमा एक पटक पनि विद्यालयमा आउनुहुन्न। यदि अभिभावकहरूले विद्यालयमा आएर आफ्ना बालबालिका र विद्यालयका समस्याबारे चासो दिनुहुन्थ्यो भने शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउन सहज हुने थियो।”
समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण
विद्युत् अभाव, क्षतिग्रस्त सौर्य प्रणाली, जीर्ण टिनको छाना, घेराबारको अभाव, कम्प्युटर तथा विज्ञान सामग्रीको कमी, खानेपानी व्यवस्थापन र इन्टरनेट समस्याले विद्यालयको समग्र शैक्षिक वातावरणमा असर पारिरहेको देखिन्छ।
स्थानीयवासी, शिक्षक तथा विद्यार्थीहरूले विद्यालयका यस्ता आधारभूत समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला पक्षले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्।















