इलाम
श्री सरस्वती माध्यमिक विधालय सन्दकपुर-३ सुलुबुङमा रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत श्री सरस्वती माध्यमिक विद्यालयको स्थलगत अनुगमन तथा अवलोकन गरिएको छ। अनुगमनका क्रममा विद्यालयको शैक्षिक व्यवस्थापन , भौतिक पूर्वाधार, प्रयोगशाला विद्यालयमा सञ्चालित बाली विज्ञान तथा अन्य सेवा–सुविधाको अध्ययन गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक रेखराज पोख्रेल का अनुसार विद्यालयमा हाल कुल १७९ जना विद्यार्थी अध्ययनरत रहेका छन्। कक्षा ११ को परीक्षामा सहभागी विद्यार्थी तथा कक्षा ११ र १२ बाहेक अन्य कक्षामा १५४ जना विद्यार्थी अध्ययन गरिरहेका छन्। तल्लो कक्षादेखि नै विद्यार्थी संख्या घट्दै जानुको मुख्य कारण निजी विद्यालयमा अङ्ग्रेजी माध्यमप्रतिको आकर्षण रहेको उहाँको भनाइ छ।

उहाँका अनुसार अघिल्लो वर्षको एसईई परीक्षामा विद्यालयले ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कक्षा १२ को बोर्ड परीक्षाको नतिजा पनि उत्साहजनक हुने अपेक्षा विद्यालयले राखेको छ। यस वर्ष कक्षा १२ मा साधारण धारतर्फ ७ जना र प्राविधिक धारतर्फ ४ जना विद्यार्थी सहभागी भएका छन्।
विद्यालयमा विषयअनुसार प्रयोगात्मक कक्षा सञ्चालन हुँदै आएको छ ।विद्यालयको पुस्तकालय हाल नभएको पाईयाे। प्रत्येक विद्यार्थीलाई नियमित रूपमा गृहकार्य गराउने र सबै शिक्षकलाई आफ्नो विषय क्षेत्रमा जिम्मेवार बनाइएको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो। अतिरिक्त कक्षाका लागि केही बजेट प्राप्त भएकाले आवश्यकताअनुसार अतिरिक्त कक्षाहरू पनि सञ्चालन गरिएको छ।
अनुगमनका क्रममा विद्यालयले व्यावहारिक कृषि शिक्षालाई विशेष प्राथमिकता दिएको पाइएको छ। विद्यालयमा प्रशस्त जग्गा भएपनि दूरीको हिसाबले निकै टाढा रहेकोले विद्यालयले नजिकै लिजमा लिएको जग्गामा विद्यार्थीहरूले आधुनिक कृषि प्रविधिमार्फत टमाटर, गोलभेंडा, काउली, ब्रोकाउली, साग तथा चियाखेती लगायतका बाली उत्पादन गरिरहेका छन्। करिब १० देखि १५ फिट क्षेत्रफलमा सेमी हाइटेक कृषि अभ्यास सञ्चालन भइरहेको छ। कृषि शिक्षाका लागि हाते ट्र्याक्टर समेत उपलब्ध रहेको छ, जसबाट विद्यार्थीहरूले खेत तयारी तथा आधुनिक खेती प्रणालीबारे व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।
विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्थापनलाई अझ व्यवस्थित बनाउनुपर्ने देखिएको छ। गणित र विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन निर्माण हुन नसक्दा विद्यार्थीलाई आवश्यक व्यवहारिक अभ्यास गराउन कठिनाइ भएको विद्यालय प्रशासनले जनाएको छ।
प्राविधिक विषयका कक्षाहरू भने प्रयोगशालामार्फत सञ्चालन हुँदै आएका छन्।
प्रयोगशालाका लागि छुट्टै हल निर्माण गर्न सकिएको छैन। सूचना तथा सञ्चार प्रविधि (ICT) ल्याबका लागि पर्याप्त बजेटको अभाव रहेको र बिग्रिएका कम्प्युटर विद्यालयकै स्रोतबाट मर्मत गर्ने योजना रहेको प्रधानाध्यापकले बताउनुभयो। साथै कम्प्युटर तथा म्युजिकल सामग्री थप गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।
विद्यालयममा प्रशस्त खानेपानी नभएको अवस्था छ। विद्यालयमा अहिलेसम्म गरेका अनुगमनमध्ये सबैभन्दा उपयुक्त यस विद्यालयमा शौचालयको अवस्था राम्रो पाइयो। विद्यालय नर्स कार्यक्रमले विद्यार्थीको स्वास्थ्य अवस्था निकै राम्रो पाइयो।
अनुगमनका क्रममा विद्यालयमा शिक्षकहरूको हाजिरी विद्यार्थीहरूले गराउने अभ्यास रहेको देखिएको छ। साथै विद्यालयका केही शिक्षकहरूले आफ्नै छोराछोरीलाई यही विद्यालयमा अध्ययन गराइरहेको पाइएको छ, जसलाई विद्यालयप्रतिको विश्वासको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। अन्य विद्यालयका शिक्षकहरूले पनि आफ्नै विद्यालयमा आफ्ना सन्तानलाई अध्ययन गराउने वातावरण बने सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढ्ने धारणा व्यक्त गरिएको छ।
विद्यालयका अन्य पक्ष सन्तोषजनक भए पनि पूर्वाधार अभाव प्रमुख चुनौतीका रूपमा रहेको छ। शैक्षिक सत्र २०८३ का लागि प्रशासनिक भवन तथा स्मार्ट कक्षाकोठा निर्माण हुन सकेको छैन। प्रशासनिक भवनलाई अझ व्यवस्थित बनाउन आवश्यक देखिएको छ भने विद्यालयमा घेराबार र मुख्य प्रवेशद्वार (गेट) को पनि अभाव रहेको छ। विद्यालय परिसरको सुरक्षा तथा व्यवस्थापनका लागि थप सीसीटीभी जडानको आवश्यकता समेत औंल्याइएको छ।
साथै विद्यालयमा थप भवनहरूको पनि आवश्यकता देखिन्छ।
प्रधानाध्यापक पोख्रेलले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यबाट विद्यालयलाई अझ उत्कृष्ट बनाउने प्रयास भइरहेको बताउनुभयो। विद्यालयबाट अध्ययन पूरा गरी जाने विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “अरूलाई तपाईंहरू आएपछि के लाग्छ थाहा छैन, तर हामीलाई विद्यालयका राम्रो–नराम्रो पक्ष देखाउन र सुधारका लागि सुझाव पाउन अवसर मिलेकोमा खुसी लागेको छ र विद्यालयको वास्तविक समस्या देखाउन पाइयो।”
रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रमले स्थानीय माध्यमिक विद्यालयका वास्तविक अवस्था सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता, सुधार र उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको विश्वास रहेको छ। :::















