खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक रूपमा कमजोर, अभिभावकविहीन तथा असहाय बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिका–३ काहुलेमा रहेको लक्ष्मी आवासीय माध्यमिक विद्यालयमार्फत सञ्चालित यस कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्।
चालु शैक्षिक सत्रमा विद्यालयमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। तीमध्ये २९ जना विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन्। विद्यालयका अनुसार आवासीय रूपमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा विपन्न, अभिभावक गुमाएका वा विशेष संरक्षणको आवश्यकता भएका बालबालिका हुन्। केही विद्यार्थी भने टाढाका क्षेत्रबाट अध्ययनका लागि आएका छन्।

गाउँपालिकाले विगत तीन वर्षदेखि यस कार्यक्रमलाई निरन्तर आर्थिक सहयोग गर्दै आएको छ। विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीले निःशुल्क रूपमा आवास, खाना, खाजा, लत्ताकपडा तथा आवश्यक शैक्षिक सामग्री प्राप्त गरिरहेका छन्। कार्यक्रमप्रति आकर्षण बढ्दै गएपछि केही अभिभावकले शुल्क तिरेर आफ्ना बालबालिकालाई समेत आवासीय व्यवस्थामा राख्न थालेका छन्।

विद्यालयका शिक्षक जीवन राईका अनुसार निःशुल्क आवासीय शिक्षा कार्यक्रमले अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकाको शैक्षिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पारेको छ। विद्यालयले उनीहरूको पढाइसँगै मानसिक, सामाजिक तथा सिर्जनात्मक विकासमा समेत विशेष ध्यान दिँदै आएको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईका अनुसार आवासीय व्यवस्थाका लागि उपलब्ध भौतिक संरचनालाई व्यवस्थित रूपमा प्रयोग गरिएको छ। छात्र र छात्रालाई आवश्यकताअनुसार छुट्टाछुट्टै समूहमा राखेर उनीहरूको रेखदेख, अध्ययन तथा अतिरिक्त क्रियाकलापमा नियमित सहजीकरण गरिँदै आएको छ। आवासीय कार्यक्रममा सहभागी बालबालिकामध्ये एक जना विद्यार्थी उदयपुर जिल्लाबाट समेत अध्ययनका लागि आएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला राईले सुरुवाती चरणमा आर्थिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि स्थानीय सरकारको निरन्तर सहयोगले कार्यक्रमलाई स्थायित्व दिन मद्दत पुगेको बताइन्। आवासीय विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबीसै घण्टा विद्यार्थीको सुरक्षा, हेरचाह र अध्यापनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले कुनै पनि बालबालिका गरिबी वा पारिवारिक समस्याका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनका अनुसार गाउँपालिकाले प्रत्येक वर्ष करिब १८ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ, जसबाट आवासीय विद्यार्थीका लागि आवश्यक सम्पूर्ण आधारभूत सुविधा व्यवस्थापन गरिँदै आएको छ।
स्थानीयवासीका अनुसार गाउँपालिकाको यो पहलले गरिब, दलित तथा असहाय बालबालिकाको शैक्षिक भविष्य सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, आवासीय सुविधामा अध्ययन गर्न इच्छुक अन्य विद्यार्थीले तोकिएको शुल्क तिरेर कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था पनि गरिएको विद्यालय प्रशासनले जनाएको छ।
यसैबीच, शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विगत चार वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा निःशुल्क अध्ययन गराउँदै आएको छ। अध्ययन पूरा गरेपछि गाउँपालिकामा फर्किएर सेवा गर्ने सहमतिका आधारमा उनीहरूलाई छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ।
स्थानीय सरकारको लगानीमा सञ्चालित यस्ता कार्यक्रमले सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई शिक्षामार्फत आत्मनिर्भर र सक्षम नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।















