इलाम । सूर्योदय नगरपालिका–११ आइतबारेस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयमा आधारभूत शैक्षिक सुविधा उपलब्ध भए पनि खानेपानी, शौचालय, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा सुरक्षा व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको पाइएको छ।
रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक लेखराज भट्टराईसँग गरिएको अन्तरक्रिया तथा स्थलगत अनुगमनका क्रममा विद्यालयका उपलब्धि र चुनौती दुवै पक्ष उजागर भएका हुन्।
अनुगमनका क्रममा विद्यालय परिसरको पछाडिपट्टि ठूलो पानी ट्याङ्की रहेको र त्यहाँ पर्याप्त पानी सञ्चित भएको पाइयो। तर उक्त पानी प्रत्यक्ष रूपमा पिउन उपयुक्त नभएको जानकारी विद्यालय प्रशासनले दिएको छ। विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीका लागि पानी उमालेर वितरण गर्ने व्यवस्था गरिएको छ। साथै फिल्टरमार्फत शुद्धीकरण गरिएको पानी विद्यार्थीहरूले पिउने गरेको पाइएको छ।
सरसफाइ व्यवस्थापनतर्फ विद्यालयले प्रयास गरिरहेको देखिए पनि शौचालयको अवस्था भने सुधार गर्नुपर्ने देखिएको छ। शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले प्रयोग गर्ने शौचालयमा पानीको व्यवस्था गर्न ट्याङ्कीबाट पानी संकलन गरी राख्ने गरिएको छ। पुरुष शौचालयका केही कोठाहरूमा पर्याप्त सरसफाइ हुन नसकेको अवस्था अनुगमनका क्रममा देखिएको थियो। यद्यपि हात धुने स्थानमा साबुन र पानीको व्यवस्था गरिएको पाइयो।
विद्यालयमा प्रारम्भिक बालविकास (ईसीडी) कक्षाको व्यवस्था रहेको छ। केही भौतिक सामग्री तथा संरचनामा मर्मतसम्भारको आवश्यकता देखिएको छ। विद्यालयमा सूचना प्रविधि शिक्षाका लागि १६ वटा डेस्कटप कम्प्युटर र चार वटा ल्यापटप उपलब्ध रहेका छन्। तर विद्यार्थीहरूले पर्याप्त प्रयोगात्मक अभ्यासको अवसर नपाएको गुनासो व्यक्त गरेका छन्। कम्प्युटर शिक्षा सञ्चालन भए पनि व्यवहारिक अभ्यासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको छ र यसबाट विद्यार्थी लाभान्वित भएको पाइएको छ। विद्यालयले किशोरी स्वास्थ्य तथा सरसफाइका विषयमा पनि आवश्यक सहजीकरण गर्दै आएको जनाएको छ।
विद्यालयमा पुस्तकालयको व्यवस्था रहेको छ। विद्यार्थीहरूले पुस्तक घर लैजाने र अध्ययन गर्ने अभ्यास समेत रहेको पाइएको छ। यसले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न सहयोग पुगेको देखिन्छ। यद्यपि विद्यालयमा विज्ञान प्रयोगशाला भने उपलब्ध छैन। हाल विज्ञान विषयको उच्च तह सञ्चालन नभएकाले तत्काल ठूलो समस्या नदेखिए पनि भविष्यमा विज्ञान शिक्षा विस्तारका लागि प्रयोगशाला आवश्यक पर्ने देखिन्छ।
खेलकुद गतिविधितर्फ विद्यालय सक्रिय देखिएको छ। विद्यालयमा भलिबल तथा फुटबल खेल्ने व्यवस्था रहेको छ र विद्यार्थीहरू नियमित रूपमा खेलकुद गतिविधिमा सहभागी हुने गरेका छन्। यसले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक योगदान पुर्याएको छ।
विद्यालयले भोगिरहेको प्रमुख चुनौतीमध्ये एक यातायात सुविधा अभाव पनि हो। टाढाका बस्तीबाट आउने विद्यार्थीलाई विद्यालय पुग्न कठिनाइ हुने गरेको छ। विद्यालय बस वा अन्य यातायात सुविधा नहुँदा केही विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसक्ने अवस्था रहेको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालय मुख्य सडकसँग जोडिएको स्थानमा रहेकाले सुरक्षा व्यवस्थापनको विषय पनि महत्वपूर्ण बनेको छ। विद्यालय परिसरमा घेराबार (कम्पाउन्ड वाल) नहुँदा बाह्य गतिविधिको प्रभाव पर्ने, विद्यार्थीको सुरक्षामा चुनौती देखिने तथा विद्यालयको सम्पत्ति संरक्षणमा कठिनाइ हुने अवस्था रहेको पाइएको छ। त्यसैले विद्यालयले घेराबार निर्माणलाई प्राथमिक आवश्यकताका रूपमा अघि सारेको छ।
त्यसैगरी विद्यालयमा प्रयोग भइरहेका केही डेस्क–बेन्च पुराना भइसकेकाले विद्यार्थीलाई अध्ययन–अध्यापनमा असहजता हुने गरेको बताइएको छ। भौतिक सामग्रीको स्तरोन्नति तथा मर्मतसम्भार आवश्यक रहेको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक लेखराज भट्टराईका अनुसार विद्यालयमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास भइरहेको छ। तर खानेपानीको गुणस्तर सुधार, शौचालय व्यवस्थापन, कम्प्युटर शिक्षामा प्रयोगात्मक अभ्यास, घेराबार निर्माण तथा फर्निचर व्यवस्थापन जस्ता क्षेत्रमा थप लगानी र सहयोग आवश्यक रहेको उनले बताए।
स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा समुदायको सहकार्यबाट विद्यालयका विद्यमान समस्या समाधान गर्दै शैक्षिक वातावरणलाई अझ प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।























