काठमाडौं, असार ८ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विभिन्न विद्यार्थीले उठाएका गुनासा, जिज्ञासा तथा असन्तुष्टिलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गर्दै जेनजी अभियानका अगुवा रवि किरण हमालले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई पत्र लेख्दै नतिजा प्रकाशन प्रक्रियाको निष्पक्ष र पारदर्शी समीक्षा गर्न आग्रह गरेका हुन्।
हमालले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजासम्बन्धी विभिन्न प्रश्न र आशंकाहरू सार्वजनिक रूपमा उठिरहेको उल्लेख गर्दै मूल्याङ्कन तथा नतिजा प्रकाशन प्रक्रिको प्राविधिक र प्रशासनिक पक्षको पुनः परीक्षण आवश्यक रहेको बताएका छन्। उनका अनुसार परीक्षा प्रणालीप्रति विद्यार्थी, अभिभावक र सरोकारवालाको विश्वास कायम राख्न नतिजा प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
शिक्षामन्त्रीलाई सम्बोधन गरिएको पत्रमा मूल्याङ्कन, अंक प्रविष्टि, नतिजा प्रशोधन तथा प्रकाशन प्रक्रियामा कुनै त्रुटि, कमजोरी वा लापरवाही भएको भए त्यसको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरिएको छ। साथै, छानबिनबाट कमजोरी पुष्टि भएमा सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गर्नुपर्ने विषयमा पनि जोड दिइएको छ।
हमालले विशेष गरी नतिजाप्रति चित्त नबुझेका विद्यार्थीका लागि रिटोटलिङ (पुनःजोड) प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत न्याय सुनिश्चित गर्न रिटोटलिङ सेवा निःशुल्क उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार कक्षा १२ को परीक्षा केवल शैक्षिक मूल्याङ्कन मात्र नभई विद्यार्थीको उच्च शिक्षा, करिअर योजना र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण आधार हो। त्यसैले नतिजासम्बन्धी कुनै पनि शंका वा विवादलाई समयमै समाधान गर्नु राज्यको जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन्।
पत्रमार्फत हमालले परीक्षा व्यवस्थापन प्रणालीमा दीर्घकालीन सुधारको आवश्यकता औँल्याएका छन्। मूल्याङ्कन प्रक्रियालाई थप वैज्ञानिक, पारदर्शी र प्रविधिमैत्री बनाउँदै भविष्यमा यस्ता गुनासा दोहोरिन नदिने गरी सुधारका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव छ।
विद्यार्थीको मेहनत, आत्मविश्वास र शैक्षिक भविष्यसँग सम्बन्धित विषय भएकाले सम्बन्धित निकायले विद्यार्थीका आवाजलाई गम्भीरतापूर्वक सुन्नुपर्ने हमालको भनाइ छ। उनले शैक्षिक प्रणालीप्रति विश्वास कायम राख्न खुलापन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरेका छन्।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले समेत परीक्षा प्रणालीमा पारदर्शिता, विश्वसनीयता र उत्तरदायित्व कायम राख्नु आवश्यक रहेको बताउँदै विद्यार्थीका जायज चासो र गुनासालाई समयमै सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।























