पाँचथर, असार १६। पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित कार्यक्रममा एक सय जना विद्यार्थी लाभान्वित भएका छन्।
‘सेवा र विकासका लागि युवा’ को आयोजनामा तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई दैनिक अध्ययनका लागि आवश्यक विभिन्न सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला, कापी, कलम, अङ्ग्रेजी बोलचालसम्बन्धी पुस्तक, प्रज्ञा बृहत् शब्दकोष, क्यापलगायतका शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने, आर्थिक अभावका कारण अध्ययनमा आउने अवरोध कम गर्ने तथा शिक्षाप्रति उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढ्नुका साथै नियमित अध्ययनमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दकुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रेमी तुलसीराम मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले शिक्षा नै समाज परिवर्तनको आधार भएकाले विद्यार्थीको शैक्षिक यात्रामा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नयन्त्र तुम्बापोले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।
त्यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव तथा कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडेले शिक्षामा पहुँच विस्तार र गुणस्तरीय अध्ययनका लागि सामाजिक उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीको क्षमता विकासका लागि यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पाँचथर बहुमुखी क्याम्पस एकाइ समितिका प्रतिनिधि, विद्यार्थीका अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षाप्रति सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।
तस्वीर : झलक भट्टराई























