आगामी वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको लक्ष्य
काठमाडौं — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने सरकारको लक्ष्य रहेको बताएकी छन्।
उनका अनुसार सडक बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि ‘सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२’ स्वीकृत भइसकेको छ। अब तत्काल उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा पारिवारिक पुनर्मिलन जस्ता कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइनेछ।
मन्त्री वादीले सरकारले सडक बालबालिकाको दीर्घकालीन समाधानका लागि संरचनागत सुधार र प्रभावकारी कार्यान्वयनमा ध्यान दिएको उल्लेख गरिन्। साथै, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य सीमान्तकृत समुदायका अधिकार र सुरक्षालाई पनि प्राथमिकतामा राखिएको उनले बताइन्।
सरकारले सामाजिक न्याय, संरक्षण र समावेशी विकासलाई केन्द्रमा राखेर आगामी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।























