इलाम। इलाम नगरपालिकाले आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने कृत्रिम दूध तथा सम्बन्धित सामग्रीको बिक्री, वितरण र प्रचारप्रसारमा कडाइ गरेको छ। शिशुको स्वास्थ्य संरक्षण तथा स्तनपान प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले नगर क्षेत्रभित्र रहेका औषधि पसल, किराना पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई कानुनविपरीत यस्ता सामग्री बिक्री नगर्न निर्देशन दिएको हो।
इलाम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र खनालका अनुसार हालै गरिएको बजार अनुगमनका क्रममा केही औषधि पसल तथा अन्य व्यापारिक प्रतिष्ठानमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने विभिन्न ब्रान्डका कृत्रिम दूध तथा सम्बन्धित सामग्री प्रदर्शन र बिक्रीका लागि राखिएको भेटिएको थियो। साथै यस्ता सामग्रीको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र बजार प्रवर्द्धनसमेत भइरहेको पाइएको उनले बताए।
उनका अनुसार आमाको दूधको विकल्प (बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। उक्त कानुनी व्यवस्थाले आमाको दूधको विकल्पका सामग्रीको बिक्री, वितरण र प्रचारप्रसारमा निश्चित मापदण्ड र प्रतिबन्ध तोकेको छ।
नगरपालिकाले सबै व्यवसायीलाई प्रचलित कानुनको पूर्ण पालना गर्न, प्रतिबन्धित ढंगले यस्ता सामग्रीको प्रदर्शन तथा बिक्री नगर्न र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचारप्रसार नगर्न आग्रह गरेको छ। अनुगमनका क्रममा भेटिएका व्यवसायीलाई तत्काल त्यस्ता गतिविधि रोक्न मौखिक निर्देशनसमेत दिइएको स्वास्थ्य शाखाले जनाएको छ।
इलाम नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी बालकृष्ण फुयालका अनुसार नवजात शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि आमाको दूध सबैभन्दा उत्तम र सुरक्षित आहार हो। आमाको दूधमा शिशुको वृद्धि तथा रोगसँग लड्ने क्षमता विकासका लागि आवश्यक पोषक तत्व प्राकृतिक रूपमा उपलब्ध हुने भएकाले बजारमा पाइने कृत्रिम दूध वा अन्य खाद्य सामग्रीले त्यसको पूर्ण विकल्प दिन नसक्ने उनले बताए।
स्वास्थ्यकर्मीहरूका अनुसार जीवनको प्रारम्भिक चरणमा आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै स्वस्थ विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले चिकित्सकीय आवश्यकताबाहेक कृत्रिम दूधको प्रयोग गर्नुभन्दा आमाको दूधलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।
इलाम नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। कानुनविपरीत आमाको दूधको विकल्पका सामग्री बिक्री, वितरण वा प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले दिएको छ।
नगरपालिकाले शिशुको स्वास्थ्य र मातृ स्तनपानको अधिकारको संरक्षणका लागि सबै व्यवसायी, स्वास्थ्य संस्था तथा अभिभावकलाई कानुनी व्यवस्था पालना गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
तस्बिर; Mission Ilam























