विश्वकप उपविजेता क्रिकेटर प्रतिभा राईलाई एक लाख रुपैयाँसहित सम्मान
इलाम। इलामको माङसेबुङ गाउँपालिकाकी दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट खेलाडी प्रतिभा राईलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ। विश्वस्तरमा नेपाली खेलकुदको पहिचान स्थापित गर्न पुर्याएको योगदानको कदर गर्दै बोर्डले विराटनगरमा आयोजित विशेष कार्यक्रममा राईलाई सम्मान गरेको हो।
उक्त कार्यक्रममा सुनसरीकी दृष्टिविहीन क्रिकेटर सुनिता खवासलाई पनि समान रूपमा नगद एक लाख रुपैयाँसहित सम्मान प्रदान गरिएको छ। उनीहरू दुवैले नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै देशको गौरव बढाएको भन्दै सम्मान गरिएको हो।
प्रतिभा राई र सुनिता खवास गत वर्ष भारत र श्रीलंकामा सम्पन्न पहिलो एसबिआई दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा नेपाली टोलीका सदस्यका रूपमा सहभागी भएका थिए। प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुगे पनि फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो। प्रतियोगिताको क्रममा नेपालले अष्ट्रेलिया, श्रीलंका, पाकिस्तान र अमेरिकाजस्ता बलिया टोलीलाई पराजित गर्दै आफ्नो क्षमता प्रमाणित गरेको थियो।
कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अग्रज खेलकर्मी तथा खेल पत्रकारहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विभिन्न विधाका एक सयभन्दा बढी खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरू सम्मानित भएका थिए।
बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई उपलब्ध उपलब्धिअनुसार नगद पुरस्कार प्रदान गरेको छ। स्वर्ण पदक विजेताले ५० हजार रुपैयाँ, रजत पदक विजेताले २५ हजार रुपैयाँ र कास्य पदक विजेताले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। यसैगरी सम्बन्धित प्रशिक्षक र टोली व्यवस्थापकलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
दृष्टिविहीन महिला क्रिकेट टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई टोलीको सफलतामा पुर्याएको योगदानको कदर गर्दै २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
त्यसैगरी राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिपलगायत जुनियर प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिएको बोर्डले जनाएको छ।
दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्स अन्तर्गत टेबलटेनिसको यू–२३ एकल प्रतिस्पर्धामा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा प्रदेशका खेलकुद विकासमा दीर्घकालीन योगदान पुर्याएका १३ जना अग्रज खेलकर्मीलाई पनि सम्मान गरिएको थियो। भारोत्तोलन, एथलेटिक्स, ब्याडमिन्टन, फुटबल, कराँते, जुडो, टेबलटेनिस तथा आईटिएफ तेक्वान्दोलगायत विभिन्न खेलका व्यक्तित्वहरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
खेल पत्रकारितामार्फत प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएको भन्दै पाँच जना खेल पत्रकारलाई समेत सम्मान गरिएको छ। उनीहरूलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल तथा बोर्डका उत्कृष्ट कर्मचारीहरूलाई पनि नगदसहित सम्मान गरिएको कार्यक्रम आयोजकले जनाएको छ।
सम्मान कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष रामप्रसाद मेहता, बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, सदस्य सचिव तथा अन्य पदाधिकारीहरूले सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए।
कार्यक्रमले प्रदेशका खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा खेल पत्रकारहरूको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्दै आगामी दिनमा खेल क्षेत्रप्रति थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।























