ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकास्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै शिक्षामा पहुँच विस्तार र गुणस्तरीय सिकाइ वातावरणलाई प्रोत्साहन गर्ने उद्देश्यले एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
सुनकोशी गाउँपालिका–९, कोषभञ्ज्याङस्थित श्री कालिका माध्यमिक विद्यालय तथा सुनकोशी गाउँपालिका–१०, कटुञ्जेस्थित श्री त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यार्थीको नियमित अध्ययनलाई थप सहज, प्रभावकारी र प्रेरणादायी बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हितराज कार्कीको संयोजनमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहभागी भएका थिए। उनले शिक्षा क्षेत्रमा सरकारी निकाय, सामाजिक संस्था तथा समुदायबीचको सहकार्यले विद्यार्थीको शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे। उनले यस्ता सहयोगमूलक कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति उत्साह बढाउनुका साथै विद्यालयप्रतिको अपनत्वसमेत अभिवृद्धि हुने बताए।
विशिष्ट अतिथि वैदेशिक रोजगार बोर्डका अधिकृत तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका निवर्तमान मिडिया कार्यप्रमुख कृष्ण हुमागाईले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक अवसरसँग जोड्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले शैक्षिक सामग्री वितरण मात्र नभई विद्यार्थीको क्षमता विकास, अनुशासन र उज्ज्वल भविष्य निर्माणमा यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव एवं कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडेले शिक्षा समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई निरन्तर अध्ययन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरे। उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा सेवा र विकासका लागि युवाका सदस्य एकराज धमला, सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छवि धमला, विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङ, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उपस्थित वक्ताहरूले विद्यार्थीलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीले अध्ययनमा थप सहजता ल्याउने विश्वास व्यक्त गर्दै यस्ता सहयोगले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा राखे।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। सहभागीहरूले यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति नयाँ उत्साह जगाउनुका साथै शिक्षाको महत्वबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ।























