इलाम । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत करिब तीन दशकसम्म खेल प्रशासन र कराते प्रशिक्षण क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख तथा नायव वरिष्ठ कराते प्रशिक्षक योगबहादुर राई (योगेश चाम्लिङ) अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्षको उमेर पूरा गरेसँगै उनले औपचारिक रूपमा सरकारी सेवाबाट बिदा लिएका हुन्।
वि.सं. २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका राईले आफ्नो सेवाकालभरि कराते प्रशिक्षण, खेलाडी उत्पादन, खेल व्यवस्थापन तथा खेल प्रशासनको सुदृढीकरणमा निरन्तर योगदान दिएका थिए। विशेषगरी इलाम जिल्ला र कोशी प्रदेशमा कराते खेलको विस्तार तथा नयाँ प्रतिभाको खोजी र विकासमा उनको भूमिका उल्लेखनीय मानिन्छ।

राईको नेतृत्व र सक्रियतामा जिल्लामा विभिन्न खेलकुद गतिविधि सञ्चालन हुनुका साथै प्रशिक्षक तथा खेलाडी उत्पादनका कार्यक्रमले पनि गति लिएको खेलकर्मीहरूको भनाइ छ। खेल प्रशासनलाई व्यवस्थित बनाउने, स्थानीय तहसम्म खेलकुद गतिविधि विस्तार गर्ने र खेल संस्कृतिको विकासमा उनले पुर्याएको योगदानको प्रशंसा गरिँदै आएको छ।

उनको अवकाशका अवसरमा सुनसरीको इटहरीस्थित प्रादेशिक रङ्गशालामा विशेष सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष रामप्रसाद महतोले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै राईको दीर्घ सेवाको कदर गरेका थिए।
उक्त कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष, बोर्डका पदाधिकारी, कर्मचारी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले राईले खेलाडी उत्पादनदेखि संस्थागत खेलकुद विकाससम्म पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै उनको सेवाप्रति सम्मान व्यक्त गरेका थिए।
संयोगवश सम्मान कार्यक्रमकै दिन राईको जन्मदिन पनि परेकाले उपस्थित सबैले केक काटेर शुभकामना व्यक्त गरेका थिए। यसले कार्यक्रमलाई अझ भावनात्मक र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।
सरकारी सेवाबाट अवकाश पाए पनि योगेश चाम्लिङको अनुभव, नेतृत्व क्षमता र खेलप्रतिको समर्पण आगामी दिनमा पनि खेलकर्मी तथा नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।















