योगेन्द्र योगी
मोरङ । विद्यार्थी, विद्यालय र नेपाल प्रहरीबीच आपसी विश्वास, समन्वय तथा प्रभावकारी सञ्चारलाई सुदृढ बनाउने उद्देश्यले मोरङको सुन्दरहरैंचामा विशेष खुला संवाद कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर पाउनेछन् भने सुरक्षा निकायले कानुनी तथा सुरक्षासम्बन्धी विषयमा आवश्यक जानकारी प्रदान गर्नेछ।
सुन्दरहरैंचा नगर बाल सञ्जाल, मोरङ र इन्द्रपुर जुनियर जेसीजको संयुक्त आयोजनामा सञ्चालन हुने ‘विद्यालय, प्रहरी र विद्यार्थी–खुला संवाद’ कार्यक्रम श्रावण २२ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म इन्द्रपुर जेसीज हलमा आयोजना गरिने भएको हो।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालयभित्र सुरक्षित, अनुशासित र हिंसामुक्त वातावरण निर्माण गर्नुका साथै विद्यार्थी र प्रहरीबीचको सम्बन्धलाई अझ विश्वासिलो र जिम्मेवार बनाउनु रहेको छ। पछिल्लो समय विद्यार्थीमा कानुनी सचेतना, साइबर सुरक्षा, सामाजिक उत्तरदायित्व र व्यक्तिगत सुरक्षाबारे जानकारी आवश्यक बन्दै गएकाले यस्ता कार्यक्रमको महत्व बढ्दै गएको आयोजकको भनाइ छ।

कार्यक्रममा विद्यार्थीहरूले विद्यालय, समाज तथा सुरक्षासँग सम्बन्धित आफ्ना जिज्ञासा खुला रूपमा प्रस्तुत गर्न सक्नेछन्। त्यसको जवाफ नेपाल प्रहरीका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले प्रत्यक्ष रूपमा दिने व्यवस्था मिलाइएको छ। साथै विद्यार्थीका समस्या, चुनौती र सुझावलाई पनि गम्भीरतापूर्वक सुन्ने वातावरण तयार गरिने जनाइएको छ।
सुन्दरहरैंचा नगर बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालले विद्यालय, प्रहरी र विद्यार्थीबीच नियमित संवाद हुन सकेमा गलत सूचना, हिंसा, दुर्व्यसन तथा विभिन्न सामाजिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै कानुनी जानकारी र जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार विद्यालयलाई सुरक्षित सिकाइ केन्द्रका रूपमा विकास गर्न अभिभावक, शिक्षक, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच सहकार्य अपरिहार्य छ। खुला संवादमार्फत सबै पक्षबीच विश्वासको वातावरण निर्माण हुने र विद्यार्थीका आवाजलाई प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालालाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। सहभागीहरूको रचनात्मक सुझाव र सहकार्यले कार्यक्रमलाई उपलब्धिमूलक बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
यस प्रकारका संवादात्मक कार्यक्रमले विद्यार्थीलाई कानुनी अधिकार, कर्तव्य, सामाजिक जिम्मेवारी तथा सुरक्षासम्बन्धी जानकारी प्रदान गर्नुका साथै विद्यालयभित्र सकारात्मक, सुरक्षित र सहयोगी वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।















