सुन्दरहरैँचा, मोरङ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित फोनिक्स ध्वनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मोरङको विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित प्रशिक्षणमा झापा, मोरङ र सुनसरीका विभिन्न निजी विद्यालयमा कार्यरत २०० भन्दा बढी शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले गर्नुभएको थियो। सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकलि चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्रशिक्षणमा प्रशिक्षक राजेन्द्रबहादुर थापाले सहभागी शिक्षक–शिक्षिकालाई अंग्रेजी भाषाको ध्वनि तथा उच्चारणसम्बन्धी विभिन्न विषयमा अभ्याससहित जानकारी गराउनुभएको थियो। अंग्रेजी अक्षर र तिनले प्रतिनिधित्व गर्ने ध्वनिबीचको सम्बन्ध, शब्दको सही उच्चारण तथा विद्यार्थीलाई फोनिक्स विधिबाट अंग्रेजी सिकाउने व्यावहारिक तरिकाबारे प्रशिक्षण दिइएको थियो।
प्रशिक्षणका क्रममा शिक्षकहरूले कक्षाकोठामा विद्यार्थीको उमेर र सिकाइ क्षमताअनुसार फोनिक्स विधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा समेत जानकारी लिएका थिए। प्रारम्भिक तहका विद्यार्थीलाई अंग्रेजी पढ्न तथा उच्चारण गर्न सहज बनाउने उद्देश्यले ध्वनि पहिचान र उच्चारण अभ्यासलाई प्रशिक्षणमा प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले अंग्रेजी भाषा शिक्षणमा सही उच्चारण र ध्वनि पहिचानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। समयअनुसार शिक्षण विधिमा पनि सुधार आवश्यक हुने भएकाले शिक्षकलाई नयाँ तथा प्रभावकारी विधिसँग परिचित गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको उहाँको भनाइ थियो।
शिक्षकको क्षमता अभिवृद्धिले प्रत्यक्ष रूपमा विद्यार्थीको सिकाइमा प्रभाव पार्ने उल्लेख गर्दै खनालले यस्ता क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकलि चौधरीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको निरन्तर क्षमता विकास आवश्यक रहेको बताउनुभयो। शिक्षण क्षेत्रमा भइरहेको परिवर्तनसँगै शिक्षकहरूले पनि नयाँ ज्ञान, प्रविधि र विधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
स्थानीय तहबाट समेत शिक्षकको क्षमता विकासमा केन्द्रित कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै उपप्रमुख चौधरीले गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालले अंग्रेजी भाषाको आधारभूत सीप विकासमा फोनिक्स विधिको ज्ञान उपयोगी हुने बताउनुभयो। विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक तथा रुचिमूलक तरिकाबाट सिकाइ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
प्रशिक्षणमा सहभागी शिक्षक–शिक्षिकाले कार्यक्रम व्यवहारिक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। विशेषगरी अंग्रेजी शब्दको सही उच्चारण, ध्वनि पहिचान तथा विद्यार्थीलाई सहज ढङ्गले अंग्रेजी सिकाउने तरिकाबारे नयाँ ज्ञान प्राप्त भएको उनीहरूको भनाइ थियो।
सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमलाई एकपटकको प्रशिक्षणमा सीमित नगरी आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। अंग्रेजी भाषासँगै अन्य विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विषयमा पनि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग थियो।
नेशनल प्याब्सन कोशी प्रदेशले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको पेशागत दक्षता बढाउँदै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
शिक्षकलाई समयअनुकूल ज्ञान र सीप प्रदान गर्न सके त्यसको प्रत्यक्ष लाभ विद्यार्थीको सिकाइ उपलब्धिमा पुग्ने भएकाले यस्ता प्रशिक्षणले विद्यालय शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।















