योगेन योगि
सुन्दरहरैँचा, मोरङ। मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङलिस स्कुलमा शिक्षक–शिक्षिकाका लागि साइबर सुरक्षा तथा बाल सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षणमा प्रविधिको सुरक्षित प्रयोग, साइबर जोखिमबाट जोगिने उपाय, बालबालिकाको सुरक्षा तथा उनीहरूसँग सम्बन्धित संवेदनशील विषयमा शिक्षकलाई आवश्यक जानकारी प्रदान गरिएको थियो।

विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक क्षेत्रका सरोकारवालाबीच सहकार्य बढाउँदै विद्यार्थीलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले प्रविधिको प्रयोग बढेसँगै बालबालिका तथा किशोरकिशोरीमा डिजिटल माध्यमसँग जोडिएका विभिन्न जोखिमसमेत बढिरहेको बताउनुभयो। त्यसैले विद्यालय र परिवार दुवैले विद्यार्थीलाई सुरक्षित तथा जिम्मेवार रूपमा इन्टरनेट प्रयोग गर्न सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण, तस्बिर, पासवर्ड तथा अन्य संवेदनशील जानकारीको सुरक्षा गर्नुपर्ने विषयमा पनि उहाँले शिक्षकहरूलाई सचेत गराउनुभयो। अपरिचित व्यक्ति वा शंकास्पद गतिविधिबाट सावधान रहन तथा अनलाइनमा प्राप्त हुने अनिश्चित सूचना वा प्रस्तावप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो।
प्रशिक्षणमा बालबालिकाको सुरक्षा र उनीहरूले असहज अनुभव गरेका विषय पहिचान गर्ने सम्बन्धमा पनि जानकारी दिइएको थियो। बालबालिकाले आफूलाई असहज लागेको व्यवहार वा कुनै समस्या सहज रूपमा अभिभावक, शिक्षक वा विश्वासिलो व्यक्तिसमक्ष राख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा प्रहरी निरीक्षक गिरीले जोड दिनुभयो।
कार्यक्रममा सुन्दरहरैँचा नगर बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालले बालबालिकाको सुरक्षा कुनै एक पक्षको मात्र जिम्मेवारी नभई परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकायको साझा दायित्व भएको बताउनुभयो।
बालबालिकाले आफ्ना समस्या, गुनासा तथा असहज अनुभवबारे निर्धक्क रूपमा कुरा गर्न सक्ने वातावरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले बालमैत्री वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, हिमालय इङलिस स्कुलका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक प्रगतिसँगै उनीहरूको सुरक्षा, अधिकार र सामाजिक चेतनालाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताउनुभयो।
प्रहरी विद्यालय सम्पर्क कार्यक्रमले शिक्षक तथा विद्यार्थीलाई सुरक्षा, साइबर सचेतना र बालअधिकारका विषयमा व्यवहारिक जानकारी प्रदान गर्न सहयोग पुर्याउने उहाँको भनाइ थियो।
प्रशिक्षणका क्रममा साइबर अपराध तथा अनलाइन जोखिमबाट जोगिने आधारभूत उपाय, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, अनलाइन ठगीबाट सावधानी अपनाउने तरिका, व्यक्तिगत विवरणको सुरक्षा तथा बालबालिकाको सुरक्षासम्बन्धी विषयमा जानकारी दिइएको थियो।
विद्यालयका शिक्षक–शिक्षिकाले प्रविधिको प्रयोगसँगै विद्यार्थीमा देखिन सक्ने सम्भावित जोखिमबारे समयमै सचेत गराउन यस्ता प्रशिक्षण उपयोगी हुने प्रतिक्रिया दिएका छन्। उनीहरूले विद्यालयमा प्राप्त ज्ञानलाई विद्यार्थी तथा अभिभावकसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
विद्यालय र प्रहरीबीचको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विद्यार्थी, शिक्षक तथा अभिभावकलाई लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विद्यालयले जनाएको छ।
विद्यालयमा सुरक्षित, बालमैत्री र प्रविधिप्रति सचेत वातावरण निर्माण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।















