इलाम । इलाम नगरपालिका–७ ले आर्थिक वर्ष २०८२/०८३ मा वडा कार्यालयमार्फत सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
वडा अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख विष्णुकुमारी दाहालको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वडाले वर्षभरि सञ्चालन गरेका विभिन्न योजना, विकास निर्माणका गतिविधि तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको थियो।

सार्वजनिक सुनुवाइका क्रममा वडाबाट सम्पन्न भएका कामको अवस्था, योजनाको प्रगति, सेवा प्रवाह तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी सरोकारवालाले वडा विकाससँग सम्बन्धित विभिन्न सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा सदस्य, पूर्वजनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, नगर तथा वडा महिला समन्वय समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, वडास्तरीय विषयगत समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय बाल सञ्जालका प्रतिनिधि, निर्माण उपभोक्ता समितिका पदाधिकारी तथा अन्य सरोकारवालाको समेत उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकको सहभागिता र सुझावलाई महत्वपूर्ण रूपमा लिइएको वडा कार्यालयले जनाएको छ। नागरिकबाट प्राप्त सुझाव तथा प्रतिक्रियाले आगामी योजना निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी भई वडाको कामकारबाहीबारे आफ्ना धारणा, सुझाव तथा सल्लाह प्रस्तुत गर्ने सम्पूर्ण नागरिक तथा सरोकारवालाप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ।
वडा कार्यालयका अनुसार स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा विकास निर्माण, सार्वजनिक सेवा तथा नागरिकसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइनेछ।
कार्यक्रम २०८३ साल भदौ ५ गते सम्पन्न भएको हो।















