काठमाडौँ । तीज पर्व नजिकिँदै गर्दा नेपाली लोकसंगीतको क्षेत्रमा नयाँ मौलिक सिर्जनाहरू सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा एकैपटक १४ वटा मौलिक तीज गीत सार्वजनिक गरिएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगर, लोकगायक कृष्ण कँडेललगायतका कलाकार तथा संगीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा गीतहरूको सामूहिक रूपमा विमोचन गरिएको हो।

तीज पर्वको सांस्कृतिक पक्षलाई केन्द्रमा राखेर तयार गरिएका यी गीतहरूले नेपाली मौलिक लोकसंस्कृति, पारिवारिक सम्बन्ध, माइतीघरको सम्झना, चेलीका भावना तथा सामाजिक विषयलाई समेटेका छन्। तीजका नाममा पछिल्लो समय बजारमा आउने कतिपय गीतमा मौलिकता कमजोर हुँदै गएको चर्चा भइरहेका बेला मौलिक सिर्जनालाई प्राथमिकता दिँदै यी गीत सार्वजनिक गरिएको आयोजकको भनाइ छ।

यी हुन् सार्वजनिक भएका १४ गीत
कार्यक्रममा प्रकाश पराजुलीको ‘म्वाईं खाँदै’, राधा हमालको ‘भुरुरु आउँथे बरै चरी भए त’ र समसेर पुनको ‘मन पर्ने मान्छे’ सार्वजनिक गरिएको छ।
त्यसैगरी अनमोल बस्नेतको ‘छैन केही पिर चिन्ता’, विशाल छेत्रीको ‘ए आमा तिम्रो दुःख’, तारादेव डिसीको ‘नाच भन्छे मैना’, उमा बिडारीको ‘म कस्ती देखिएँ’ र पूजन काफ्लेको ‘तीजको लहर आउँदा बरिलै’ पनि सार्वजनिक भएका छन्।
लक्ष्मी पुरी प्रधानको ‘नाच फुरुक्कै’, सुमित्रा कोइरालाको ‘आयो मलाई झलिको माइती देशैको’, शिवराज पौडेलको ‘छोरा बनाइदे’, आइजी दानबहादुर कार्कीको ‘चेलीले माइतीलाई सम्झेर’, सरोज लामिछाने र कमल आचार्यको ‘मनको बेदना’ तथा मोतिराज खनालको ‘कम्मर भाँचौला’ पनि कार्यक्रममा सार्वजनिक गरिएको हो।
मौलिक गीतको पक्षमा कलाकार
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले नेपाली लोकसंगीतको मौलिकता जोगाउन आफू निरन्तर आवाज उठाउँदै आएको बताइन्।
उनले विकृति र विसंगतिजन्य गीत तथा सामग्रीको विरोध गर्दा व्यक्तिगत रूपमा जस्तोसुकै परिस्थिति आए पनि आफ्नो धारणा परिवर्तन नगर्ने स्पष्ट पारेकी थिइन्। लोकसंगीतको मूल पहिचान जोगाउन कलाकार तथा सर्जकहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
लोकगायक कृष्ण कँडेलले पनि आफू सुरुदेखि नै मौलिक सिर्जनाको पक्षमा रहेको बताए। उनले यस वर्षको तीजलाई लक्षित गरेर ‘इन्द्रेणी’मार्फत मौलिक तीज गीतका सातवटा शृङ्खला तयार गरिएको जानकारी दिए।
कँडेलका अनुसार ती शृङ्खलामा महिला दिदीबहिनीका भावना, अनुभव र तीजसँग जोडिएका विषयलाई प्राथमिकता दिइएको छ। तीज पर्वको मौलिकता र सांस्कृतिक पहिचानलाई गीत–संगीतमार्फत जोगाउनुपर्नेमा उनले जोड दिए।
वरिष्ठ लोकगायिका टीका पुनलाई सम्मान
कार्यक्रममा नेपाली लोकसंगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी वरिष्ठ लोकगायिका टीका पुनलाई ‘मौलिक गायन सम्मान’ प्रदान गरिएको थियो।
उनलाई सम्मानपत्र, दोसल्ला तथा नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो। लोकसंगीतको संरक्षण तथा मौलिक गायनमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न कलाकार, गायक–गायिका, सञ्चारकर्मी, निर्माता तथा निर्देशकको उपस्थिति रहेको थियो। तीज गीतको माध्यमबाट नेपाली मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सहकार्य गर्ने सबैलाई आयोजकको धन्यवाद
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले सामूहिक रूपमा गीत सार्वजनिक गर्ने कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, सर्जक, निर्माता, निर्देशक तथा अन्य सहयोगीलाई धन्यवाद दिए।
उनले मौलिक लोकगीतको प्रवर्द्धन र संरक्षणका लागि सञ्चारकर्मी तथा संगीत क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। तीजलगायत नेपाली मौलिक पर्वसँग जोडिएका सांस्कृतिक सिर्जनालाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।















