इलाम — विद्यालय तहमा भलिबल खेलको स्तर सुधार गर्दै विद्यार्थीमा लुकेका खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले इलाम सदरमुकाममा सञ्चालन गरिएको ६ दिने निःशुल्क प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ।
इलाम नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला भलिबल संघ इलामको आयोजनामा भएको प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत ६२ जना शिक्षक सहभागी भएका थिए। शिक्षकलाई भलिबल खेलको प्राविधिक पक्ष, प्रशिक्षण विधि तथा खेल व्यवस्थापनबारे आवश्यक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गर्दै भदौ १० गतेदेखि सुरु गरिएको प्रशिक्षण सोमबार सम्पन्न भएको हो। विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयमा भलिबल खेलको अभ्यासलाई व्यवस्थित बनाउने र विद्यार्थीलाई प्राविधिक रूपमा सक्षम बनाउने उद्देश्य प्रशिक्षणको रहेको आयोजकको भनाइ छ।

समापन कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले विद्यालयका शिक्षक विद्यार्थीको खेल प्रतिभा पहिचान गर्ने प्रारम्भिक र महत्वपूर्ण व्यक्ति भएकाले उनीहरूलाई प्रशिक्षित गराउन आवश्यक रहेको बताए। नगरपालिकाले जिल्ला भलिबल संघसँग सहकार्य गरी शिक्षकका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए।
उनका अनुसार विद्यालयस्तर नै खेलाडी उत्पादनको आधार भएकाले यही तहबाट खेल प्रतिभालाई प्रोत्साहन गर्न सके भविष्यमा जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार पार्न सकिन्छ। खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई अनुशासन, स्वास्थ्य र व्यक्तित्व विकाससँग समेत जोडिएको उनले बताए।
जिल्ला भलिबल संघका अध्यक्ष प्रविण गुरुङले स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि विद्यालयबाटै बलियो आधार तयार पार्न प्रशिक्षण आयोजना गरिएको बताए।
प्रशिक्षणमा सहभागी शिक्षक रुद्र मगरले आफूहरूले यसअघि पनि विद्यालयमा भलिबल खेलाउँदै आए पनि व्यवस्थित र प्राविधिक तरिकाले प्रशिक्षण दिने विषयमा थप ज्ञान प्राप्त भएको बताए। अर्का सहभागी धर्मप्रसाद दाहालले प्रशिक्षणमार्फत भलिबलको सैद्धान्तिक तथा व्यावहारिक पक्ष बुझ्ने अवसर मिलेको बताए।
प्रशिक्षणमा सूर्योदय नगरपालिकाबाहेक जिल्लाका नौ स्थानीय तहअन्तर्गतका विभिन्न विद्यालयबाट शिक्षक सहभागी भएका थिए। सम्बन्धित पालिकाले छनोट गरी पठाएका शिक्षकलाई प्रशिक्षणमा सहभागी गराइएको संघका अध्यक्ष गुरुङले जानकारी दिए।
सदरमुकामस्थित ठूलो टुँडीखेलमा सञ्चालन भएको प्रशिक्षणमा बिहान सैद्धान्तिक तथा दिउँसो प्रयोगात्मक अभ्यास गराइएको थियो। सहभागी शिक्षकलाई भलिबलका आधारभूतदेखि आधुनिक खेल प्रविधि, नियम, प्रशिक्षण विधि, खेलाडीको शारीरिक तथा मानसिक तयारी र खेल व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक विजयकृष्ण वादीका अनुसार प्रशिक्षणमा खेलका विभिन्न प्राविधिक पक्षसँगै प्रशिक्षकका रूपमा अपनाउनुपर्ने विधि र व्यवहारिक अभ्यासमा समेत जोड दिइएको थियो। वादी र विकास गुरुङले सहभागी शिक्षकलाई प्रशिक्षण दिएका थिए।
प्रशिक्षणको समापन कार्यक्रममा इलाम नगरपालिका–६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ (मदन), जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुमन काफ्ले, जिल्ला भलिबल संघका संस्थापक सचिव निरज खड्गीलगायतले प्रशिक्षणको प्रभावकारिता र विद्यालयस्तरबाट खेलाडी उत्पादनको आवश्यकताबारे धारणा राखेका थिए।
प्रशिक्षण सञ्चालनका लागि इलाम नगरपालिकाले तीन लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। प्रशिक्षित शिक्षकमार्फत विद्यालयमा नियमित र प्राविधिक भलिबल प्रशिक्षण सञ्चालन भई जिल्लाको खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।















