इलाम । लिम्बू समुदायको मौलिक संस्कृति र सामाजिक जीवनमा आधारित नेपाली चलचित्र ‘युक्पुङ’को दुईदिने विशेष प्रदर्शन इलाममा सम्पन्न भएको छ। शनिबार र आइतबार आयोजित दुईवटा प्रदर्शनमा पाँच सयभन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ।
नोगेन अर्गानिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रले स्थानीय दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको छ। चलचित्रमा याक्थुङ (लिम्बू) समुदायको जीवनशैली, संस्कार, परम्परा र सांस्कृतिक पहिचानलाई कथामार्फत प्रस्तुत गरिएको छ।

चलचित्र हेरेका दर्शकले यसको मौलिक कथावस्तु, स्थानीय परिवेश र सामाजिक यथार्थको चित्रणलाई प्रशंसा गरेका छन्। विशेषगरी विगतको नेपाली समाज र गाउँबस्तीको जीवनशैलीलाई पर्दामा उतार्ने प्रयासले दर्शकको ध्यान खिचेको प्रतिक्रिया प्राप्त भएको छ।

कथाको प्रवाह, कलाकारहरूको अभिनय र दृश्य प्रस्तुतिले चलचित्रलाई दर्शकसँग जोड्न सहयोग गरेको देखिन्छ। प्रदर्शनपछि केही दर्शकले चलचित्रको कथा अझै अगाडि बढ्नुपर्ने र यसको अर्को शृङ्खला निर्माण हुनुपर्ने अपेक्षासमेत व्यक्त गरेका छन्।
चलचित्रमा चर्चित टेलिशृङ्खला ‘लालकान्छी’सँग जोडिएका कलाकार मदन वनेम, कुशल थलङ लिम्बू, बिनु तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ। विशेष प्रदर्शनमा कलाकार मदन वनेम र कुशल थलङ लिम्बूको उपस्थितिले दर्शकको उत्साह थप बढाएको थियो।
‘युक्पुङ’को विशेष प्रदर्शन किरात याक्थुङ चुम्लुङ, इलाम नगर शाखाको आयोजनामा भएको हो। स्थानीय भाषा, संस्कृति र सामाजिक परिवेशलाई चलचित्रमार्फत अभिव्यक्त गर्ने प्रयासका रूपमा यस प्रदर्शनलाई हेरिएको छ।
मौलिक सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रप्रति दर्शकको चासो र प्रतिक्रियाले स्थानीय कथा तथा पहिचानलाई पर्दामा ल्याउने प्रयासलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।















