इलाम। इलामको सन्दकपुर गाउँपालिका–३, टारी यतिबेला फुटबलमय बनेको छ। माघे संक्रान्तिको अवसर पारेर आयोजना भइरहेको टारी गोल्डकपका कारण गाउँमा स्थानीय मात्र होइन, छिमेकी पालिका र जिल्लाबाट समेत फुटबलप्रेमी पाहुनाको आवागमन बढेको छ। यसले गाउँको जनजीवनमा विशेष रौनक थपिएको छ।
झापाको बुधबारेकी विमला नेपाल केही दिनका लागि आफन्त भेट्न टारी आइपुगिन्। सामान्यतया एक–दुई दिन मात्र बस्ने उनी यसपटक भने पाँच दिनभन्दा बढी यतै बस्ने योजनामा छिन्। उनी भन्छिन्, “आफन्त भेट्ने त बहाना मात्रै हो, टारी गोल्डकप हेर्न पाउँदा यो ठाउँ दसैंजस्तै लाग्छ। जसरी पनि समय मिलाएर आउनैपर्छ।”
यस्तै, इलाम–११ की बबिता साउदेन पनि आठ दिनदेखि टारीमा पाहुना बनेकी छन्। माइजोगमाई–६, प्याङका रेखबहादुर थेबे पनि आफन्तकहाँ बसेर प्रतियोगिता हेरिरहेका छन्। घर नजिकै भए पनि उनी सातादेखि टारीमै बस्नुको कारण एउटै हो—फुटबलप्रतिको गहिरो लगाव। इलाम नगरपालिका–१२ की प्रतिमा साउदेन पनि माघ लागेपछि मात्र घर फर्किने तयारीमा छिन्।
यी पात्रहरू प्रतिनिधि मात्रै हुन्। अहिले टारीका अधिकांश घरमा एकदेखि तीन जनासम्म फुटबलप्रेमी पाहुना आइपुगेका छन्। वर्षको एक पटक आयोजना हुने टारी गोल्डकपलाई आधार मानेर आफन्त भेट्ने, गाउँको माहोलमा रमाउने र स्तरीय फुटबल हेर्ने चलनजस्तै बनेको स्थानीय बताउँछन्।
“यही गोल्डकपको समयमा पाहुना धेरै आउँछन्,” एक स्थानीयले भने, “पाहुनासँगै फुटबल हेर्न, गफ गर्न र पुराना सम्झना साट्न पाइन्छ। गाउँ नै रमाइलो हुन्छ।” पाहुनाहरू बिहान–बेलुका आफन्तसँगै बस्छन्, घरायसी काममा सघाउँछन् र दिउँसो खेल हेर्न मैदान पुग्छन्। कोही पूरै प्रतियोगिता अवधिभर बस्छन् भने कोही दुई–चार दिनमै फर्किन्छन्।
टारी फुटबल क्लबका सचिव रुपेनराज नेम्बाङका अनुसार, यसरी बाहिरबाट आउने दर्शकले प्रतियोगिताको माहोल थप उत्साहपूर्ण बनाएको छ। “यो प्रतियोगिता गाउँस्तरमै सीमित छैन,” उनी भन्छन्, “जिल्ला र जिल्लाबाहिरका फुटबलप्रेमीका लागि पनि आकर्षण बनेको छ।” उनका अनुसार कतिपय पाहुना त भारतको सीमावर्ती क्षेत्रबाट समेत आउने गरेका छन्।
हरेक वर्ष खेत, बारी वा चौरमा हुँदै आएको प्रतियोगिता यसपटक भने आफ्नै मैदानमा आयोजना भइरहेको छ। सचिव नेम्बाङका अनुसार, खेलप्रेमीको निरन्तर सहयोग र चासोका कारण चन्दा तथा आर्थिक सहयोग जुटाएर आफ्नै खेलमैदान निर्माण गर्न सफल भएको हो।
इलाम जिल्लामा समग्र रूपमा फुटबलप्रतिको क्रेज उच्च रहेको देखिन्छ। सदरमुकाममा हुने प्रतियोगिता हेर्न पनि गाउँ–गाउँबाट फुटबलप्रेमीहरू डेरा लिएर बस्ने गरेको पाइन्छ। “यहाँ स्तरिया खेलाडी आउँछन्, खेल निकै प्रतिस्पर्धात्मक हुन्छ,” रेखबहादुर भन्छन्, “टाढाबाट आएर पनि नहेरी फर्किन मन लाग्दैन।”
यसपटक टारी गोल्डकपअन्तर्गत खुला पुरुष फुटबल, भेट्रान्स र नवयुवा (अन्डर–१४) समूहका प्रतियोगिता आयोजना गरिएका छन्। खुला पुरुषतर्फ १६ टिम सहभागी हुनेछन्। विजेताले नगद ७० हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। भेट्रान्सतर्फ ८ टिम सहभागी हुनेछन्, जसमा विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। नवयुवा समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसपटक टिम दर्ता निःशुल्क गरिएको छ।
आयोजक अध्यक्ष महेन्द्र साउदेनका अनुसार, यो प्रतियोगिता केवल खेलमा सीमित छैन। “स्थानीय संस्कृति संरक्षण, जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, रैथाने खानाको प्रवद्र्धन र स्थानीय उत्पादनको बजार विस्तार पनि हाम्रो उद्देश्य हो,” उनले बताए।
टारी गोल्डकपले फुटबलसँगै सामाजिक सम्बन्ध सुदृढ बनाएको छ। पाहुना र स्थानीयबीचको आत्मीयता, खेलप्रतिको उत्साह र गाउँको सामूहिक सहभागिताले टारी यतिबेला साँच्चिकै उत्सवमय बनेको छ।























