उत्तरी इराकमा इरानसँग सम्बन्धित ड्रोन आक्रमणपछि निष्क्रिय बनाउने क्रममा भएको विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको छ। घटनामा अर्का एक सैनिक घाइते भएका छन्। अमेरिकी सेनाले घटनाबारे जानकारी सार्वजनिक गर्दै विस्फोट नियन्त्रणका क्रममा दुर्घटना भएको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानी ड्रोन खसालेपछि त्यसमा रहेको विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रयास भइरहेको थियो। सोही क्रममा नियन्त्रित विस्फोटको प्रक्रिया अघि बढाउँदा अप्रत्याशित घटना भएपछि एक सैनिकको ज्यान गएको र अर्का एक जना घाइते भएको हो। घाइते सैनिकको उपचार भइरहेको जनाइएको छ।
यो घटना जोर्डनस्थित अमेरिकी सैन्य आधारमा भएको अर्को आक्रमणको भोलिपल्ट सार्वजनिक भएको हो। उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अर्का एक सैनिक बेपत्ता भएको जानकारी अमेरिकी अधिकारीहरूले दिएका थिए।
पछिल्ला महिनाहरूमा मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको छ। इराक, सिरिया तथा जोर्डन क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू विभिन्न ड्रोन तथा रकेट आक्रमणको जोखिममा परिरहेका छन्। यसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको विश्लेषण गरिएको छ।
यस घटनापछि अमेरिकी सेनाले आफ्ना सैनिकको सुरक्षालाई थप सुदृढ बनाउने र घटनाको विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।






















