काठमाडौँ । नेपालकै प्रसिद्ध स्याउ उत्पादन क्षेत्र मुस्ताङमा यस वर्ष स्याउको उत्पादन र कारोबार दुवैमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालू आर्थिक वर्षमा जिल्लाबाट करिब एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ।
गतवर्षको तुलनामा यो वर्ष करिब १० करोड रुपैयाँ बढी मूल्यको स्याउ बिक्री भएको हो। गत वर्ष ७ हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष उत्पादन ७ हजार ६३६ मेट्रिकटन पुगेको केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउ अहिले देशभर मागमा छ र बजारमा कुनै समस्या छैन। उनले भने, “यस वर्ष उत्पादन राम्रो भएको छ, गुणस्तर उच्च भएकाले स्याउ सजिलै बिक्री भइरहेको छ। कृषक र स्थानीय तहका कृषि शाखासँग निरन्तर समन्वय गरेर बगैँचाबाटै तथ्यांक संकलन गरिएको छ।”
स्याउ खेती विस्तार र स्थानीयको आकर्षण
मुस्ताङमा अहिले करिब ८९२ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। तीमध्ये स्थानीय प्रजातिका रोयल, रेड, रिचारेड र गोल्डेनसहितका जात ८३२ हेक्टरमा छन् भने हाइब्रिड स्याउ ६० हेक्टरमा खेती गरिएको छ।
केन्द्रका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीका अनुसार स्थानीय प्रजातिबाट मात्र ७८ करोड ८९ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ भने हाइब्रिड जातबाट ३१ करोड ३४ लाख रुपैयाँ बराबरको उत्पादन भएको छ।
उनका अनुसार स्थानीय प्रजातिको स्याउको उत्पादन दर प्रति हेक्टर १०.४१ मेट्रिकटन र हाइब्रिड प्रजातिको उत्पादन दर २६.१२ मेट्रिकटन रहेको छ।
नयाँ जातप्रति कृषकको रुचि
पछिल्ला वर्षहरूमा मुस्ताङका किसानहरू गाला र किङरोड जातको स्याउ खेतीतर्फ आकर्षित भएका छन्। यी जातका स्याउ आकारमा ठूला, रसिला र गुलिया हुने भएकाले बजारमा उच्च माग रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
हाल स्थानीय स्याउको औसत मूल्य प्रति किलो रु. १३०, र हाइब्रिड स्याउको मूल्य रु. २०० तोकिएको छ।
स्याउ उत्पादनका प्रमुख क्षेत्रहरू
मुस्ताङका थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका हबका रूपमा चिनिन्छन्। यस्तै उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाहरूले पनि हालका वर्षमा स्याउ खेतीलाई प्राथमिकतामा राखेका छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङका अनुसार, “उपल्लो मुस्ताङमा पनि स्याउ खेती विस्तार भइरहेको छ। स्थानीयले आधुनिक प्रविधि अपनाएका कारण उत्पादन र गुणस्तर दुवैमा सुधार आएको छ।”
बजार, प्रविधि र सरकारी सहयोग
शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको स्याउ जोन (मुस्ताङ) र स्थानीय तहका कृषि शाखाहरूले किसानलाई निरन्तर सहयोग गर्दै आएका छन्।
उनीहरूले कृषि औजार वितरण, समयमै मलजल, रोग नियन्त्रण, प्राविधिक तालिम र नयाँ बिरुवा वितरणजस्ता कार्यहरूलाई प्राथमिकतामा राखेका छन्। यसै कारण यस वर्षको स्याउ रसिलो, गुलिया, ठूला आकारका र लामो समयसम्म ताजा रहने बनेको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका कृषक आङ्ग्या (ङवाङ) गुरुङका अनुसार, “यस वर्ष मलजल र हेरचाह राम्रो भएको कारण स्याउको उत्पादन असाधारण रूपमा बढेको छ। टिप्ने समयमै टिपिएकोले बजारमा राम्रो मूल्य पाइयो।”
पर्यटन र स्थानीय अर्थतन्त्रमा योगदान
स्याउ खेतीले मुस्ताङको ग्रामीण अर्थतन्त्रलाई मात्र नभई पर्यटनलाई पनि बिस्तारै सहयोग पुर्याएको छ। मुस्ताङमा घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकहरूले स्याउलाई कोशेलीको रूपमा लिएर जाने चलन बढ्दो छ, जसले बजार मागलाई थप मजबुत बनाएको छ।
स्थानीय कृषकहरूको सामूहिक प्रयास, सरकारी निकायको सहयोग र बजार व्यवस्थापनले गर्दा मुस्ताङको स्याउ व्यवसाय अहिले नेपालको सफल कृषिगत मोडलका रूपमा अघि बढिरहेको छ। (तस्बिर कृषि प्रेस)























