इलाम । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। उनले दिएको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार दर्जीले गत असार २२ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा घटना सम्बन्धी निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार जाहेरीमा उल्लेखित विवरणका आधारमा घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

दर्जीले दिएको निवेदनमा अंकित प्रधान र शनिश्चरेका ‘शुक्रे’ भनिने व्यक्तिले आफूलाई अपमानजनक शब्द प्रयोग गर्दै कुटपिट गरेको, घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको तथा भिडियो हटाउन आग्रह गर्दा समेत धम्की दिएको उल्लेख गरेका छन्।

दर्जीका अनुसार उनी मामाघर गएको समयमा उक्त घटना भएको हो। बिर्तामोडस्थित महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको र केही दिनपछि देवीबस्ती गेट नजिक स्कुटरमा पेट्रोल हालिरहेको बेला आफूलाई कुटपिट गरिएको उनले जाहेरीमा दाबी गरेका छन्।
यसअघि सामाजिक सञ्जालमा अशोक दर्जीसँग सम्बन्धित एउटा भिडियो सार्वजनिक भएपछि उक्त विषय चर्चामा आएको थियो। भिडियोमा एक व्यक्तिले दर्जीमाथि हातपात गरेको जस्तो दृश्य देखिएपछि घटनाबारे विभिन्न प्रतिक्रिया आएका थिए।
प्रहरीका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको छ। प्रहरीले अंकित प्रधानसँग सम्पर्क गरिसकेको जनाएको छ भने अर्का व्यक्तिको अवस्थाबारे पनि अनुसन्धान भइरहेको बताएको छ।
प्रहरीले पीडित र घटनामा जोडिएका पक्षलाई छलफलका लागि बोलाइएको जनाएको छ। अनुसन्धानपछि मात्रै घटनाको वास्तविक अवस्था स्पष्ट हुने प्रहरीले जनाएको छ।















