Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लिम्बू भाषा र किपट संरक्षणमा योगदान पुर्‍याउने दुई पालिका सम्मानित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १८, २०८३ मा प्रकाशित

इलाम । किरात याक्थुङ चुम्लुङ इलामले आफ्नो ३८औँ स्थापना दिवसका अवसरमा जिल्लाका दुई स्थानीय तहलाई सम्मान गरेको छ। लिम्बू भाषा, मौलिक परम्परा, प्राकृतिक स्रोत तथा सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै माङसेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकालाई सम्मान गरिएको हो।

बुधबार इलाम सदरमुकाममा आयोजित स्थापना दिवस समारोहमा दुवै स्थानीय तहका प्रमुखलाई सम्मानपत्र प्रदान गरिएको थियो। माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई र सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले आ–आफ्नो पालिकाको तर्फबाट सम्मानपत्र ग्रहण गरे।

सम्मान कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष अभिषेक येक्तेन (चक्र) र चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले सम्मानपत्र हस्तान्तरण गरेका थिए।

चुम्लुङ इलामकी अध्यक्ष सोङ्मीका अनुसार माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई स्थानीय सरकारको सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउँदै मातृभाषाको संरक्षण र पुस्तान्तरणमा उल्लेखनीय पहल गरेको छ।

माङसेबुङ गाउँपालिकाले वि.सं. २०८३ जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा घोषणा गरी कार्यान्वयनमा ल्याएको हो। स्थानीय तहको सरकारी कामकाजमा मातृभाषाको प्रयोगलाई प्राथमिकता दिँदै गरिएको यो पहलले लिम्बू भाषा र लिपिको संरक्षण तथा विकासमा महत्वपूर्ण आधार तयार गरेको चुम्लुङको भनाइ छ।

अध्यक्ष सोङ्मीले माङसेबुङको पहलले भाषिक अधिकार र मातृभाषाप्रतिको सम्मानलाई स्थानीय तहको अभ्याससँग जोडेको बताइन्। उनका अनुसार यसबाट लिम्बू भाषालाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा दैनिक सरकारी कामकाजमा यसको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, सन्दकपुर गाउँपालिकालाई भने लिम्बू समुदायसँग सम्बन्धित ऐतिहासिक किपट प्रणाली, वन, वातावरण तथा जैविक विविधताको संरक्षणका लागि कानुनी व्यवस्था अघि बढाएको भन्दै सम्मान गरिएको हो।

सन्दकपुर गाउँपालिकाले ‘थेबे (लिम्बू) किपट प्रथाजनित संरक्षित वन, जैविक विविधता (वन, वातावरण, पर्यावरण) संरक्षण तथा पर्यापर्यटन ऐन, २०८१’ जारी गरेको छ। उक्त कानुनी व्यवस्थामार्फत थेबे किपटसँग जोडिएको ऐतिहासिक, सांस्कृतिक तथा सामुदायिक महत्वका विषयलाई संरक्षण र संस्थागत गर्ने प्रयास गरिएको चुम्लुङले जनाएको छ।

किपटसँग जोडिएको भूमि, वन, जैविक विविधता, वातावरण र स्थानीय समुदायको परम्परागत ज्ञान तथा अभ्यासलाई संरक्षण गर्ने उद्देश्यले स्थानीय तहबाट कानुनी पहल हुनु सकारात्मक कदम भएको चुम्लुङको भनाइ छ। यसले मौलिक ज्ञान, परम्परा र सामुदायिक अधिकारका विषयलाई स्थानीय नीतिसँग जोड्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

पूर्वसल्लाहकार एक्तेन पनि सम्मानित

स्थापना दिवसकै अवसरमा चुम्लुङका पूर्वसल्लाहकार तथा खान्द्रुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक काजीमान एक्तेन (पिएचडी) लाई पनि सम्मान गरिएको थियो। चुम्लुङको अभियानमा पुर्‍याएको योगदान तथा सामाजिक र शैक्षिक क्षेत्रमा गरेको भूमिकाको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।

तीन विद्यार्थीलाई छात्रवृत्ति

स्थापना दिवसको अवसरमा चुम्लुङ इलामले तीन जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ।

किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको वार्षिक १० हजार रुपैयाँको छात्रवृत्ति माङसेबुङ गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत लिहाङ माबोहाङलाई प्रदान गरिएको छ। माबोहाङले उक्त छात्रवृत्ति वि.सं. २०८१ देखि प्राप्त गर्दै आएका छन्।

त्यस्तै, स्वर्गीय देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट प्रदान गरिने जनही ५ हजार रुपैयाँको छात्रवृत्ति इलाम नगरपालिका–१२ स्थित साङ्गरुम्बा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुरज लिम्बू र सन्दकपुर गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सिम्रन साँवालाई प्रदान गरिएको हो।

पहिचान संरक्षणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण

कार्यक्रमका प्रमुख अतिथि तथा चुम्लुङका केन्द्रीय उपाध्यक्ष अभिषेक येक्तेनले चुम्लुङले स्थापना कालदेखि नै लिम्बू समुदायको भाषा, लिपि, संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको बताए।

समयसँगै मौलिक भाषा, संस्कृति र पहिचान संरक्षणका चुनौतीसमेत थपिँदै गएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई आफ्नो भाषा, इतिहास, संस्कार र संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिए। समुदायको पहिचान जोगाउने अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, सामाजिक संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि स्थानीय सरकार र समुदायबीच सहकार्य बढाउन सके भाषा, संस्कृति तथा मौलिक पहिचान संरक्षणका अभियान प्रभावकारी बन्ने धारणा राखेका थिए। स्थानीय तहबाट भाषिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा उनीहरूले जोड दिए।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल), चुम्लुङका पूर्वसल्लाहकार काजीमान एक्तेन (पिएचडी), किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष तीर्थ साउदेन, इलाम नगरपालिका–८ का वडाध्यक्ष दलमान तामाङ तथा नेपाल आदिवासी जनजाति महासंघ इलामकी सचिव रञ्जिता जिमीलगायतले मन्तव्य राखेका थिए।

चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष याम माबोहाङले स्वागत मन्तव्य राखेका थिए भने सचिव राम लिङदमले कार्यक्रम सञ्चालन गरेका थिए।

ताजा समाचारहरु

IMG-20260903-WA0002

रजस्वला : परम्परा र विज्ञानबीचको बुझाइ

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260827-WA0006

भोटेकोशी बाढी : मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260903-WA0000

कृष्णभीर अवरुद्ध, हेटौँडा–काठमाडौँ यात्रामा सास्ती

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260901-WA0004

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी

  • भदौ १६, २०८३ मा प्रकाशित
IMG-20260901-WA0001

रसुवा बाढीपछि तीन भारतीय नागरिक घर फर्किए, तीन अझै बेपत्ता

  • भदौ १६, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.