बुटवल । उद्योग व्यापार संघ बुटवलको आयोजनामा आगामी पुस ८ देखि २० गतेसम्म बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला – २०७८ को तयारी तीव्र रुपमा अगाडि बढेको छ । उक्त मेलामा चार सय बढी स्टल रहने जनाइएको छ ।
मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५० स्टल रहने र आजसम्म करिब सय वटा स्टल दर्ता भइसकेका स्टल व्यवस्थापन संयोजक लोकनाथ पाण्डेले जानकारी दिए । प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन, कृषि र नयाँ प्रविधिका स्टललाई प्राथमिकता दिइएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । युवा पुस्तालाई आकर्षित गर्न १५ वटा सेल्फी जोन र शंखघण्ट सहितका पूजारी राखेर विभिन्न ११ देवी–देवताका मन्दिर निर्माण गर्ने संघका प्रचारप्रसार समिति संयोजक जनेस पन्थीले बताए ।
बुटवलमा क्रियाशील चार वटा व्यावसायिक संस्थामध्ये यो साल पहिलोपटक उद्योग व्यापार संघ बुटवलले मेला आयोजना गर्न लागेको हो । बुटवलमा प्रत्येक वर्ष यस्ता मेला स्थानीय उद्योगी व्यापारीका संघ संगठनहरुले गर्दै आएका छन् ।























