काठमाडौं, चैत ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकोले स्वास्थ्यका मापदण्ड पालना गर्दै अरुलाई हानी नहुनेगरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन् ।
देउवाले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत उनले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान रहेको बताएका छन् ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्ग दल्दै फागुपूर्णिमा मनाइन्छ ।















