काठमाडौं, चैत १९ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । दुवै प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

शुक्रबार नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने जानकारी दिए । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए ।

आफ्नो यो भ्रमणबाट नेपाल भारतको सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।















