असिम कामु मगर
बुटवल जेठ ३१ । रुपन्देही प्रशासनले रुपन्देही जिल्लामा जारी निषेधाज्ञाको अवधीलाई एक साता थपेको छ । यस पटक गरी चौथो पटक निषेधाज्ञाको समय थप गरिएको हो । यसअघि थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिदैछ ।
कोरोना भाइरसको दोस्रो लहर तिव्र गतीमा फैलिएपछि गएको बैशाख १६ गते देखि रुपन्देहीमा निषेधाज्ञा जारी गरेको थियो । त्यसयता प्रशासनले पटक पटक समय थप गर्दै आएको थियो । निषेधाज्ञाको स्वरुप परिवर्तन गरि एक साताका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले बताए ।

जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले केही खुकुलो गरी असार ७ गते सम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । रुपन्देही प्रशासनका अनुसार दैनिक उपभोग्य बस्तुहरुको खरिद बिक्रिलाई केही सहज बनाईएको छ । पसल ब्यवसाय सञ्चालन गर्ने ब्यवसायीले पुर्ण रुपमा सूरक्षा मापदण्डको पालना गर्नुपर्नेछ ।

निषेधाज्ञाको यस समयमा मानिस जमघट हुनेगरी होटल रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठी, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ब्युटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, जिमखाना, शिक्षण संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न भने पाइने छैन् ।















