दोलखा । बाबुको मृत्युपछि छोरोले मात्रै काजक्रिया गर्नुपर्छ भन्ने हिन्दु धार्मिक मान्यताको परम्परागत मान्यता तोड्दै दोलखाको बैतेश्वर गाउँपालिकाको एक घरमा छोरीहरुनै आफ्ना बुबाको कृयामा बसेका छन् ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ का निलप्रसाद दाहालको मृत्यु भएपछि उनका चार छोरी र श्रीमती कृयामा बसेका हुन् ।

दाहालको छोरा थिएनन् भने ६ जना छोरी मात्रै थिए । बुबाको मृत्यु भएपछि ४ जना छोरी र श्रीमती कृयामा बसेको स्थानीय शान्तिप्रसाद दाहालले बताउनुभयो ।
यसले छोरोले मात्रै आफ्नो अभिभावकको मृत्यु संस्कार गर्नु पर्छ भन्ने मान्यतालाई तोडिदिएको छ भने छोरा नभएपनि छोरीले छोरा सरहनै गर्न सकिन्छ भन्ने उदाहरण समाजमा दिएको छ ।

यसअघि नेपाली समाजमा छोरा नभएकाहरुको मृत्यु हुँदा नजिकका दाजुभाई काजक्रियामा बस्ने चलन थियो । मृत्यु संस्कारका लागि छोरो अनिवार्य चाहिन्छ भन्ने परम्परागत मान्यतालाई दोलखा बैतेस्वर ४ का ब्रेका ४ छोरीहरुले तोडेर जिल्लामै नमूना प्रस्तुत गरेका छन् ।
हिन्दु परम्परा अनुसार बुबाआमाको मृत्यु पछि छोराहरु ९ दिन देखि १३ दिनसम्म कपाल खौरी सेतो लुगा लगाएर कृया बस्ने चलन छ । काब्रेमा बुबाको मृत्यु संस्कारमा बसेका चार छोरी मध्ये तीन जनाले कपाल खौरिएर सेतो कपडा सहित कोरामा बसेका छन् । बाँकी २ छोरीको भने बिबाह भएका कारण उनीहरु क्रियामा नबसेका हुन् ।















