काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरेको श्रोतले जनाएको छ ।
नेकपा एमालेका नेतासमेत रहेका उनलाई लगातार ज्वरो आइरहेको र रगतमा हेमोग्लोबिनको कमी भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि बुधबार (आज) साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन् । दिल्लीस्थित एपोलो अस्पतालमा उनलाई उपचार गर्ने बताइएको छ ।

खनाल यसअघि मृगौलाको समस्या र कोभिड – १९ को संक्रमण भएर अस्पताल भर्ना भएका थिए । अस्पताल डिस्चार्ज भएको केही हप्तामा खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।















