काठमाडौं । फोनमार्फत फिरौती रकम माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बारा सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गर्ने युवक पक्राउ परेका हो । पक्राउ पर्नेमा सोही गाउँपालिकामा कारारमा काम गर्ने कार्यालय सहयोगी बारा सुवर्ण गाउँपालिका–४ हर्दिया टोल निवासी २८ वर्षीय मुकेश प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
यादवले श्रीवास्तवलाई एनसिएलको अपरीचित नम्बरबाट फोन तथा एसएमएस गरी १५ लाख रूपैयाँ १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भन्दै धम्की दिएका थिए । पटक पटक फोन तथा एसएमएस गरी फिरौती माग गरेको भन्ने अडियो सहितको सूचना जिल्ला प्रहरी कार्यालय बाराले प्राप्त गरेपछि तत्काल अनुसन्धान टोली गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

सेवा प्रदायक कम्पनी एनसेलसँग प्राविधिक सहयोग समेत लिई अनुसन्धान गर्दै जाँदा उक्त कार्य करारमा कार्यरत यादवले गरेको देखिएपछि पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















