काठमाडौ । ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने सामाजिक अभियान्त ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मुद्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । सामाजिक अभियन्ता सङ्ग्रौलाको समूहसँग एक महिनाअघि महाराजगञ्ज चोकमा प्रहरीले लाइसेन्स मागेको थियो । लाइसेन्स नबोकेको भन्दै बाइक रोक्दा उत्पन्न विवादका क्रममा सङ्ग्रौलाको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झा विरुद्ध रंगभेदी अभिव्यक्ति दिएको थियो ।
ड्युटीमा रहेका प्रहरीमाथि गरिएको रंगभेदी दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि सङ्ग्रौलामाथि चौतर्फी कारबाहीको आवाज उठेको छ । भिडियाेमा सङ्ग्रौलाको समूहले असई झालाई तपाईं मधेसी अब उता मधेसतिर जाउ खेती किसानी गरेर बस । ट्राफिकको जागिर खाएर काम छैन । आफ्नै घरतिर सजिलो पनि हुन्छ भनेको थियो । अझै उनले यस्तो ट्राफिक चाहिदैन तुरुन्तै सरुवा गरिदिन्छु भन्दै धम्की दिएका थिए ।

महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी महाशाखाले आवश्यक छानविन गरिरहेको प्रहरी प्रवक्ता बसन्त कुँवरले बताएका छन् । प्रहरीले यो घटनालाई रंगभेद भन्दा कार्य व्यवधान खडा गरेको रूपमा लिएको छ । प्रवक्ता कुँवरले भने, रंगभेदमा कारबाही चलाउन सम्बन्धित प्रहरी कर्मचारीको उजुरी आउनुपर्छ । त्यो अहिलेसम्म आएको छैन । दुई साता पछि महाराजगञ्ज बाट झाको सरुवा भएपछि चौतर्फी विरोध भएको थियो ।

सरुवाबारे अनेक टिकाटिप्पणी हुन थालेपछि झा महाराजगञ्जमै थमौती भएका छन् । तर, विवाद भने टुङगिइसकेको छैन । उक्त रंगभेदी दुर्व्यवहार विरुद्ध राष्ट्रिय मधेसी आयोगमा समेत उजुरी परेको छ । सङ्ग्रौलाले भने मान्छेको जात एउटै हुन्छ भेदभाव गर्नुहुँदैन भनेर निरन्तर आवाज उठाउने व्यक्ति भएको बताउदै आफूले त्यस्तो अभिव्यक्ति नदिएको प्रष्टीकरण दिएकी छिन् ।
बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छिन्, एउटा पुरानो भिडियो भाइरल गरेर मलाई गलत देखाउने हर्कत गरिएको छ ।’ आफूले नबोलेको भए पनि नेतृत्व गरेको विषय वस्तु प्रति उठेका सवालको नैतिक जिम्मेवारी लिएर जवाफसहित क्षमायाचना गर्ने उनले बताएकी छिन् । ‘मैले नबोलेका कुरालाई इस्यु बनाएर तराईबासी दाजुभाइ दिदीबहिनीहरूमा भावनात्मक चोट पुगेको छ,’ सङ्ग्रौलाले भनेकी छिन्, ‘जसले जे बोलेको भएपनि मैले लिड गरेको विषय वस्तु प्रति उठेका सवालको नैतिक जिम्मेवारी लिएर मैले जवाफ सहित क्षमा याचना पनि गर्छु ।’
एक जना सिकिस्त बिरामीका लागि अक्सिजन सिलिण्डर लिन जाँदा ट्राफिकले लाइसेन्स मागेर बाइक राखिदिएपछि विवाद भएको उनले स्वीकारेकी छिन् । कुनै हालतमा बाइक नदिने भनेपछि आफूहरू प्रहरी कार्यालय गएको उल्लेख गर्दै उनले असई झाले भिडियो हालिस् भने सबलाई साइबर क्राइममा हाल्छु भनेर धम्क्याएको समेत संग्रौलाले बताएकी छिन् ।















