काठमाडौँ । राजधानी काठमाडौँमा फेरी जातीय विभेदको अर्को घटना सार्वजनिक भएको छ । इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनार पछिल्लो समय कोठा सर्न खोज्दै थिइन् । काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात् दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् ।


घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभए जस्तो गरिन् । उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ । आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन् ।


रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन । ती घरबेटीले तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय विभेद गरेको पाइएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन । सञ्चारकर्मी सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आज अधिकारकर्मी, पत्रकार र कानुन व्यावसायिकको बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।















